थपियो न्युयोर्क लगायतका अध्यागमन अदालतमा नियमित सुनुवाईको स्थगन, नोभेम्बर १६ अगाडि नखुल्ने
प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार
न्युयोर्कको अध्यागमन अदालत हिराशतमा नरहेकाहरुको सुनुवाई कम्तीमा नोभेम्बर १६ सम्म स्थगित भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले नोभेम्बर १३ सम्म नियमित सुनुवाई स्थगित गरेकोमा त्यसपछिको सप्ताहन्तका कारण कम्तीमा नोभेम्बर १६ सम्म स्थगित हुने भएको छ ।
स्थगन मिति हरेक साता बढाइदै गएकाले त्यसपछि पनि स्थगन मिति बढ्नसक्ने अनुमान गरिएको छ । न्युयोर्कको भेरिक स्ट्रीट र फेडरल प्लाजामा रहेका अध्यामगन अदालतहरु हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि कम्तीमा नोभेम्बर १६ सम्म बन्द रहनेछन् ।
As previously announced, certain immigration courts have resumed non-detained hearings. Hearings in non-detained cases at courts without an announced date are postponed through, and including, November 13, 2020.
— DOJ EOIR (@DOJ_EOIR) October 26, 2020
यी अदालतहरुमा फाइलिङ र हिराशतमा रहेकाहरुको सुनुवाई भने जारी नै रहेको छ । त्यस्तै न्युयोर्कको ब्रोडवेमा रहेको अध्यागमन अदालत पनि फाइलिङका लागिमात्र खुल्ला रहेको छ ।
अध्यागमन अदालतमा हिराशतमा रहेकाहरुबाहेक अन्यको सुनुवाई हुन नसक्दा कैयन नेपालीहरु मारमा परेका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीहरुका ३८७६ केसहरु पेन्डिङ रहेका छन्, जसमध्ये ३८३४ केसहरु इमिग्रेशन सम्बन्धित रहेका छन् । १३ वटा केसहरुभने अपराधसँग सम्बन्धित रहेका छन् । इमिग्रेशनका नेपालीका पेन्डिङ केसहरुमध्ये सबैभन्दा धेरै न्युयोर्कको फेडरल प्लाजामा १६६९ केसहरु रहेका छन् ।
न्युयोर्क राज्यका ४ वटा अदालतहरुमा नेपालीका पेन्डिङ इमिग्रेशन केसहरु २०२३ रहेका छन्, जसमध्ये ब्रोडवेको अध्यागमन अदालतमा २२८, भेरिक स्ट्रीटमा १२३ र बफेलोमा ३ वटा इमिग्रेशन केसहरु रहेका छन् । न्युयोर्कपछि क्यालिफोर्नियामा १०२६ नेपालीका इमिग्रेशन केसहरु पेन्डिङ रहेका छन् । क्यालिफोर्नियाका ५ सुनुवाइस्थलमध्ये सबैभन्दा धेरै नेपालीका पेन्डिङ केसहरु सान फ्रान्सिस्कोमा रहेका छन् ।
नेपालीका अधिकांश अध्यागमन केसहरु एसाइलमसँग सम्बन्धित रहेका छन् । पछिल्लो समयमा मेक्सिकोबाट अमेरिकी सिमाक्षेत्रमा आएर विना भिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेर एसाइलम दावी गर्ने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ ।