बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनबाट देशनिकालाबाट संरक्षणका लागि नयाँ आवेदन लिन सुरु
प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार
अदालतको आदेशपछि अमेरिकी सरकारको युएससीआईएसले बाल्यकालमा अमेरिका आएका दशौं हजार कागजपत्रविहिन आप्रवासीहरु वर्क परमिट प्रदान गर्ने र देशनिकालाबाट संरक्षण प्रदान गर्ने ओबामा युगको डाका कार्यक्रमका लागि नयाँ आवेदन समेत स्वीकार गर्न सुरु गरेको छ । सन् २०१७ को सेप्टेम्बर पछि युएससीआईएसले पहिलोपटक नयाँ आवेदन स्वीकार गर्न सुरु गरेको हो ।
त्यस्तै युएससीआईएसले सन् २०१७ को सेप्टेम्बर अगाडि नै पुरानो नियम अनुशार नै डाकाको नविकरणका आवेदनहरु पनि स्वीकार गर्न थालेको छ । त्यस्तै डाका कार्यक्रममा रहेकाहरुले अमेरिकाबाहिर यात्रा गर्नुपरेमा आवश्यक पर्ने एड्भान्स परोलका आवेदन पनि युएससीआईएसले स्वीकार गर्न थालेको छ ।
अदालतको आदेश अनुशार डाकाका कागजातहरुको अवधि दुईबर्षका लागि थपिने भएको छ भने युएससीआईएसले डाकामार्फत प्रदान गरिएका वर्क परमिटको अवधि पनि २ बर्ष नै बनाउने भएको छ । सन् २०२० को जुलाई २८ पछि डाकाका वर्कपरमिटहरु एकबर्षका लागि जारी गरिएकोमा दुईबर्ष बनाउनका लागि युएससीआईएसले उचित कदम चाल्ने जनाएको छ ।
बाल्यकालमा अमेरिका आएका दशौं हजार कागजपत्रविहिन आप्रवासीहरु वर्क परमिट प्रदान गर्ने र देशनिकालाबाट संरक्षण प्रदान गर्ने ओबामा युगको डाका कार्यक्रमका लागि आवेदन दिन तत्काल योग्य हुनेगरी डिसेम्बर ४ मा न्युयोर्कको संघीय अदालतका न्यायाधिसले यस्तो आदेश जारी गरेका थिए ।
बु्रकलिनको युएस डिस्ट्रिक्ट कोर्टका न्यायाधिस निकोलस ग्राउफिसले ८ बर्ष पुरानो यो कार्यक्रम पूर्णरुपमा पुनस्थापना गरिएको घोषणा गरेका थिए । ट्रम्प प्रशासनले यो कार्यक्रमलाई खारेज गर्न लगातार प्रयास गर्दै आइरहेको थियो ।
न्यायाधिसले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई नयाँ आवेदन स्वीकारका लागि सुचना जारी गर्न दिएको निर्देशन अनुशार युएससीआईएसले सुचना जारी गरेको हो । पहिलोपटक आवेदन दिन चाहनेहरुले पनि आवेदन दिन पाउने र वर्क परमिट २ बर्षका लागि जारी गरिने कुरा सुनिश्चित गरिएको छ ।
ट्रम्प प्रशासनले गत जुलाईमा डाकाको वर्क परमिट एकबर्षका लागिमात्र सिमित गर्न मेमो जारी गरेको थियो । तर न्यायाधिसले यस्तो मेमो जारी गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यवाहक सेक्रेटरी चाड उल्फले गैरकानुनी रुपमा उक्त पदधारण गरेको भन्दै मेमो समेत खारेज गरिदिएका थिए ।
यसैबीच टेक्सासका एटोर्नी जनरलले संघीय न्यायाधिसलाई डाका कार्यक्रम गैरकानुनी घोषणा गर्न र यो कार्यक्रम खारेज गर्न अनुरोध गरेका छन् । जसको सुनुवाई यसै महिनाको अन्त्यका लागि तोकिएको छ । अमेरिकामा झण्डै ६ लाख ४० हजार कागजपत्रविहिनलाई डाका कार्यक्रमले देशनिकाला हुनबाट संरक्षण प्रदान गर्दै वर्क परमिट समेत प्रदान गरेको छ ।
डाका कार्यक्रमबाट संरक्षित नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् । उनीहरु बाल्यकालमा नै बाबुआमाबाट अमेरिकामा ल्याइएका र पछि कागजपत्रविहिन भएकाहरु हुन् ।