१८ वटा श्रेणीमा पर्नेले अब एसाइलमबाट ग्रिनकार्ड लिंदा पुन: अन्तरवार्ता दिनुपर्ने


प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार

अमेरिकी सरकारको युएससीआईएसले एसाइलम र शरणार्थीका आधारमा ग्रिनकार्ड आवेदन दिने आवेदकको अन्तरवार्ता लिने वा नलिने सन्दर्भमा अधिकारीहरुलाई तजविज अधिकार दिने नीति निर्देशिकामा अपडेट गरेको छ । यो नीति निर्देशिकाका आधारमा युएससीआईएसका अधिकारीले कुन आवेदकको ग्रिनकार्ड अन्तरवार्ता लिने र कुन आवेदकको नलिने भन्ने सन्दर्भमा निर्णय गर्नेछन् ।

अध्यागमन तथा राष्ट्रियता ऐनको २०९ अनुशार ग्रिनकार्ड आवेदन दिनेको अन्तरवार्ता आवश्यक भए नभएको अधिकारीहरुले हरेक आवेदन अनुशार फरक फरक निर्णय गर्नसक्नेछन् । अर्थात् एउटै प्रकृतिका आवेदनमा समेत फरक फरक निर्णय गर्न सक्नेछन् । तर अपडेटले ग्रिनकार्ड आवेदनका लागि आवश्यक पर्ने योग्यतामा भने कुनै परिवर्तन गरेको छैन ।

नीतिमा युएससीआईएसले अन्तरवार्ता लिनुपर्ने श्रेणीको सुची नै प्रकाशित गरेको छ । अपडेट गरिएको नयाँ निर्देशिका अनुशार अब पहिलेको तुलनामा धेरै आवेदकहरु अन्तरवार्ताका लागि उपस्थीत हुनुपर्नेछ । एसाइलममा हुने जालसाजी पत्ता लगाउन र जालसाजी रोक्न यस्तो प्रयास सुरु गरिएको युएससीआईएसले जनाएको छ ।

अधिकारीले आफूसँग भएको इमिग्रेशन रेकर्डमा आधारित रहेर ग्रिनकार्ड दिने वा नदिने कुरा निर्धारण गर्न नसकेको खण्डमा सामान्यतया अन्तरवार्ताका लागि बोलाउनसक्ने प्रावधान रहेको छ । एसाइली, रिफ्युजी र उनीहरुका परिवारका सदस्यहरुका सन्दर्भमा यो प्रावधान लागु हुनेछ ।

डिसेम्बर १५ वा त्यसपछि ग्रिनकार्ड आवेदन दिएका एसाइली र रिफ्युजीका सन्दर्भमा नयाँ अपडेट लागु हुनेछ । त्यो भन्दा अगाडिका आवेदकका सन्दर्भमा भने पहिले कै नीति अनुशार ग्रिनकार्ड स्वीकार वा अस्वीकार गरिनेछ ।

विभिन्न १८ वटा अवस्थामा अधिकारीले एसाइलम आवेदकलाई ग्रिनकार्ड स्वीकृत गर्नु अगाडि अन्तरवार्ताका लागि बोलाउन सक्नेछन् । फाइल हेरेर आवेदकको परिचय प्रमाणित गर्न नसकेमा, फाइल हेरेर प्रमाणित भएको तर आवेदकले नयाँ परिचय दावी गरेमा, फर्म आई ७३० स्वीकृत हुनु अगाडि अन्तरवार्ताको प्रकृया पूरा नभएको भएमा, एफबीआईको अनुसन्धानमा औठाछापबाट रेकर्ड हेर्दा कुनै खराब रेकर्ड भेटिएमा वा औठाछापको फरक छुट्याउन समस्या भएका कारण आवेदकले अन्तरवार्तामा सपथ बयान दिनुपर्नेभएमा अन्तरवार्ताका लागि बोलाइने भएको छ ।

त्यस्तै अधिकारीले विना अन्तरवार्ता ग्रिनकार्ड स्वीकार गर्ने नगर्ने निश्चित गर्न नसकेमा, अधिकारीले आवेदन अस्वीकार गर्ने निर्धारण गरेमा तर अन्तरवार्ताका क्रममा कुनै वेभर दिन सकिनेबारे विचार गर्नुपरेमा, सुरुमा एसाइलम स्वीकृत हुँदा नै कुनै जालसाजी गरेको वा गलत कागजात बुझाएको प्रमाण देखिएमा, प्रारम्भिक एसाइलम आवेदक नै शरणार्थीको परिभाषाभित्र पर्न छाडिसकेको भएमा, प्रारम्भिक आवेदकसँग दम्पत्ति वा छोराछोरीको सम्बन्ध टुटिसकेको भएमा पनि अन्तरवार्तामा बोलाइने भएको छ ।

आवेदकप्रति राष्ट्रिय सुरक्षा वा आतंकबाद सम्बन्धि कुनै चासो देखिएमा, फ्रड डिटेक्सन एण्ड नेशनल सेक्युरिटी र सेन्टर फ्रड डिटेक्सन अपरेशनले जालसाजीको आंशका गरेमा वा ब्याकग्राउण्ड चेक युनिटले अन्तरवार्ताको सिफारिस गरेमा, विगत वा वर्तमानमा देशनिकालाको प्रकृयामा रहेका कारण ग्रिनकार्डका लागि योग्य हुने नहुने निर्धारण गर्न रेकर्ड फाइल अप्रयाप्त भएमा, आवेदकका धेरै परिचय भएमा, अन्य कुनै पनि कारणले आवेदकको सपथ बयान लिनुपर्ने भएमा, पेश गरिएका थप कागजातमा कुनै कुरा अष्पष्ट भएमा, आवेदक नागरिक भएको वा विगतमा बसेको देश विगत वा वर्तमानमा आतंकबादलाई सहयोग गर्ने देश रहेको खण्डमा र अन्य कुनै पनि विषय अन्तरवार्ताबाट समाधान गर्नुपर्ने अधिकारीले निष्कर्ष निकालेको खण्डमा आवेदकलाई अन्तरवार्तामा बोलाइने छ ।

कस्तो कस्तो अवस्थामा अन्तरवार्ता लिइने छ भन्ने सन्दर्भमा नीतिको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

अन्तरवार्ताका सन्दर्भमा पनि युएससीआईएसले गाइडलाइनहरु अपडेट गरेको छ । अन्तरवार्ताका बेलामा आवेदकले अनुवादक लैजान सक्नेछन् तर साथी र आफन्तलाई अनुवादकका रुपमा लैजान पाउने वा नपाउने सन्दर्भमा अधिकारीले तजविज अधिकारका आधारमा निर्णय गर्नेछन् । अनुवाद राम्रो नगरेको खण्डमा त्यस्तो अनुवाद अधिकारीले अस्वीकार समेत गर्न सक्नेछन् ।

अन्तरवार्ताका सन्दर्भमा युएससीआईएसको अपडेटेड गाइडलाइन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com