एसाइलम, ग्रिनकार्ड, भिसा र मास्कबारे बाइडेनले कार्यभार सम्हालेकै दिन गर्ने ४ काम


प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले जनवरी २० मा कार्यभार सम्हाल्दैछन् । उनले आफूले कार्यभार सम्हालेकै पहिलो दिनमा केही कामहरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यभार सम्हालेकै दिन बाइडेनले ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजान संसदमा पठाउने भएका छन् । जसमा डाका र टीपीएसले समेटेका समेत रहेका छन् । बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनदेखि निश्चित समयभन्दा अगाडि अमेरिका आएका तर अहिलेसम्म ग्रिनकार्ड नपाएकाहरुलाई समेत यो बिलले समेट्नेछ ।

यो बिल पारित हुनका लागि दुबै सदनमा डेमोक्र्याट्सको बहमुत आवश्यक छ । हाउसमा डेमोक्र्याट्सले बहुमत कायम गरिसकेका छन् । तर सिनेटमा बहुमत कायम गर्नका लागि जनवरीको पहिलो साता जर्जियामा हुने चुनावमा डेमोक्र्याट्सले दुबै सिट जित्नुपर्छ । अन्यथा यो बिल पारित हुन मुस्किल छ ।

बाइडेनले कार्यभार सम्हालेकै दिन डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध उल्टाउने घोषणा गरेका छन् । ट्रम्पले १३ मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाएका छन् ।

यो प्रतिबन्ध सुरुमा इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनमाथि लगाइएको थियो । पछि यसमा केही थप घट गरियो । अहिले लिबिया, उत्तर कोरिया, सोमालिया, सिरिया, यमन, इरिटेरिया, क्रिगिस्तान, म्यानमार र नाइजेरिया समेत छन् । यो प्रतिबन्धले तान्जानिया र भेनेजुएलाका नागरिकलाई समेत प्रभाव पार्छ ।

त्यस्तै ट्रम्पले एसाइलममा लगाएका कैयन प्रतिबन्धहरुलाई पनि बाइडेनले उल्टाउने घोषणा गरेका छन् । ट्रम्पले अमेरिकामा एसाइलममा कडाई गर्ने कैयन कार्यकारी आदेशहरु जारी गरेका छन् ।

बाइडेनले कार्यभार सम्हालेकै पहिलो दिन मास्क अनिवार्य गराउने कार्यकारी आदेशमा समेत हस्ताक्षर गर्ने भएका छन् । उनले सुरुका एकसयदिन मास्क अनिवार्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका हुन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com