युएससीआईएसमा १३ लाख बायोमेट्रिक अप्वाइन्टमेन्ट पेन्डिङ, मिति तय गर्न ४ महिना लाग्नसक्ने


प्रकाशित मिति : पुस १५, २०७७ बुधबार

युएससीआईएसमा १३ लाख बायोमेट्रिक अप्वाइन्टमेन्ट पेन्डिङ रहेको र सबैको मिति तय गर्न ४ महिनासम्म लाग्नसक्ने युएससीआईएसले जनाएको छ । कोरोनाको महामारीका कारण मार्चदेखि जुनसम्म व्यक्ति उपस्थीत हुने सेवाहरु स्थगित भएकाले युएससीआईएसमा बायोमेट्रिक अप्वाइन्टमेन्टको भयानक ब्याकलग श्रृजना भएको हो ।

मार्चदेखि जुनसम्म पहिले नै मिति तय भएका झण्डै २ लाख ८० हजार बायोमेट्रिक अप्वाइन्टमेन्टहरु रद्द गर्नुपरेकाले र त्यसपछि पनि कोरोनाको महामारी कारण पूर्ण क्षमतामा काम गर्न नसकेकाले कैयन आवेदकको बायोमेट्रिक अप्वाइन्टमेन्टको मिति आउन ढिलो भएको युएससीआईएसले जनाएको छ । जुलाईपछि आंशिक क्षमतामा काम सुरु गरेपनि सामाजिक दुरीको मापदण्ड, स्थानीय आदेशहरु, खराब मौषम र सरसफाईका कारण सेवा प्रभावित भएको छ ।

सेप्टेम्बरसम्म युएससीआईएसका एप्लीकेशन सपोर्ट सेन्टरहरुले ५० प्रतिशत क्षमतामामात्र काम गरेको र त्यसपछि ६५ प्रतिशत क्षमतामा काम गरेको जनाइएको छ । युएससीआईएसले अहिले सम्भव भएसम्म आवेदकका पूरानै बायोमेट्रिक प्रयोग गरेर नयाँ बायोमेट्रिकका लागि उपस्थीत हुन नपर्ने सुचनाहरु पठाइरहेको छ । पूरानै बायोमेट्रिक प्रयोग भएकाहरुका सन्दर्भमा आई ७९७ सुचना पठाएर जानकारी दिइएको छ । उपस्थीत हुनैपर्नेहरुका बायोमेट्रिक अप्वाइन्टमेन्टको मिति दिने गरिएको छ ।

अहिले महामारीका कारण रद्द भएका बायोमेट्रिक अप्वाइन्टमेन्टका सन्दर्भमा नयाँ मिति दिने काम समेत पूरा नभएको युएससीआईएसले जनाएको छ । हरेक दिन औषतमा १० हजार ४ सयको बायोमेट्रिक अप्वाइन्टमेन्ट तय गरिएको युएससीआईएसले स्पष्ट पारेको छ । यही दरमा बायोमेट्रिक अप्वाइन्टमेन्ट दिंदासमेत डिसेम्बर मध्यसम्म अप्वाइन्टमेन्ट नपाएकाहरुले अप्वाइन्टमेन्टको मिति पाउन ४ महिनासम्म लाग्नसक्ने देखिएको छ ।

बायोमेट्रिक अप्वाइन्टमेन्टहरु सुविधाको प्राथमिकताको आधारमा समेत तय गरिएको युएससीआईएसले जनाएको छ । कस्तो प्रकारको आवेदन हो, ती आवेदनमा पहिले प्राप्त भएको आवेदनको बायोमेट्रिक अप्वाइन्टमेन्ट पहिले दिने गरिएको जनाइएको छ । अप्वाइन्टमेन्टको प्रतिक्षा अवधि भूगोल र सपोर्ट सेन्टरको क्षमता अनुशार हुने जनाइएको छ ।

कोरोनाको महामारीका कारण सेनाको आवेदन र मुख्य आवेदकको अप्वाइन्टमेन्ट तय भएका परिवारका सदस्यका सन्दर्भमा बाहेक अन्य आवेदनका सन्दर्भमा विना अप्वाइन्टमेन्ट ‘वाकइन’ बायोमेट्रिक संकलन गर्न नसकिने युएससीआईएसले जनाएको छ ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com