बाइडेनले शुक्रबार जारी गर्ने तय भएका अध्यागमनबारेका कार्यकारी आदेश मंगलबार जारी गर्ने


प्रकाशित मिति : माघ १७, २०७७ शनिबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार जारी गर्ने तय भएका अध्यागमनबारेका कार्यकारी आदेशहरु मंगलबार जारी गर्ने ह्वाइटहाउसले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासको नियुक्ती सिनेटबाट पारित हुनमा ढिलाई भएकाले कार्यकारी आदेश केही दिनका लागि स्थगित गर्नुपरेको ह्वाइटहाउस प्रेस सेक्रेटरी जेन पास्कीको भनाई छ ।

मेयरकासको नियुक्ती नियमित प्रकृयाबाट पारित हुन नसकेपछि सिनेटमा बिहिबार मेयरकासको नियुक्तीका सन्दर्भमा रिपब्लिकनको फिलिबस्टर तोडेर नियुक्तीलाई अगाडि बढाउन मतदान भएको थियो । अब उनको नियुक्तीबारेका प्रकृयागत व्यावधानहरु हटेका छन् ।

रिपब्लिकनहरुले अमेरिकाको अध्यागमनका विषयहरुमा मेयरकासबारे उचित छानविन नभएका कारण थप सुनुवाईको माग गरेका थिए । बाइडेनले छानेका मन्त्रिपरिषदका सदस्यहरुको नियुक्तीका सन्दर्भमा रिपब्लिकन फिलिबस्टरको सामना गरेका मेयरकास पहिलो व्यक्ति हुन् । उनको पक्षमा ५५ र विपक्षमा ४२ मत खसेको थियो । रिपब्लिकन सिनेटर मिट रोम्नी, सुजन कोलिन, लिसा मुर्कोस्की, रोब पोर्टम्यान र सेली मुर क्यापिटोले उनका पक्षमा मतदान गरेका थिए । फिलिबस्टरका लागि ६० भोट आवश्यक पर्छ ।

मेयरकारको नियुक्ती सोमबार सिनेटबाट पारित हुने अपेक्षा गरिएको छ । मेयरकासकै नेतृत्वमा सिमाक्षेत्रमा विछोडिएका आप्रवासी परिवारको पुनर्मिलनका लागि टास्क फोर्स बनाउनुपर्ने भएकाले र मेयरकासको नियुक्ती सिनेटबाट पारित नभएसम्म टास्क फोर्समा राख्न नमिल्ने भएकाले समेत कार्यकारी आदेशहरु जारी गर्नमा ढिलाई भएको जनाइएको छ ।

अमेरिकी अध्यागमन प्रणालीमा आधुनिकिकरण गर्ने लगायतका कार्यकारी आदेशमा बाइडेनले मंगलबार हस्ताक्षर गर्नेछन् । मंगलबार बाइडेनले अमेरिकी अध्यागमन प्रणालीमा आधुनिकिकरण गर्ने सन्दर्भमा मन्तब्य समेत दिने जनाइएको छ ।

बाइडेनले ट्रम्प कार्यकालको एसाइलम नीति उल्टाउनेदेखि परिवारको पुनर्मिलनसम्मका कार्यकारी आदेश जारी गर्ने तयारी गरेका छन् ।त्यस्तै शरणार्थी कार्यक्रममा बृद्धि, पब्लिक चार्जको नियम रद्द, परिवारको पुनर्मिलन, मार्च ३१ सम्मको आप्रवासन रोक खारेज लगायतका कार्यकारी आदेश जारी गर्ने बाइडेनको तयारी छ ।

बाइडेनले अध्यागमनबारे निम्न कार्यकारी आदेश जारी गर्ने योजना बनाएपनि मंगलबार नै यी सबै कार्यकारी आदेश जारी गर्ने नगर्ने स्पष्ट छैन ।

शरणार्थी कार्यक्रममा बृद्धि

बाइडेनले अमेरिकामा ठूलो संख्यामा शरणार्थी स्वीकार गर्नेगरी कार्यकारी आदेशमार्फत लक्ष्य तय गर्ने जनाइएको छ । ट्रम्पले आर्थिक बर्ष २०२१ का लागि शरणार्थीको कोटा अधिकतम १५ हजार कायम गरेकोमा बाइडेनले यसबारे कार्यकारी आदेश जारी गर्ने तयारी गरेका छन् । बाइडेनले चुनावी अभियानका क्रममा शरणार्थीको कोटा बार्षिक १ लाख २५ हजारसम्म बनाउने प्रतिबद्धता जनाएका थिए ।

बाइडेनले शरणार्थी कार्यक्रममा कसरी बृद्धि गर्नेछन् भन्नेबारे केही बताइएको छैन । ह्वाइट हाउसका अधिकारीले कार्यकारी आदेशमार्फत शरणार्थी स्वीकार कार्यक्रम पुनस्थापना गरिने र शरणार्थीको संरक्षणमा अमेरिकाका ऐतिहासिक नेतृत्वदायी भूमिकालाई कायम गरिने बताएका छन् ।

पब्लिक चार्जको नियम रद्द

बाइडेनले कार्यकारी आदेशमार्फत विवादास्पद पब्लिक चार्जको नियम रद्द गर्ने योजना बनाएका छन् । सरकारी सुविधा लिएका, लिने सम्भावना भएका र कम आम्दानी भएकाहरुलाई ग्रिनकार्ड प्राप्त गर्न मुस्किल बनाउने यो नियम ट्रम्पले गतबर्षदेखि लागु गरेका थिए । विभिन्न कानूनी लडाई पार गरेर यो नियम कार्यान्वयनमा रहेको छ ।

सरकारबाट मेडिकेड, फुड स्ट्याम्प र आवासीय सुविधा लिएकाहरुलाई ग्रिनकार्ड पाउनमा कठिन बनाउने यो नियम आफ्नो खुट्टामा उभिन नसक्नेहरुका लागि अमेरिकी सपनामा तगारो बनेको छ । आवेदक भविश्यमा पब्लिक चार्ज हुने नहुने निर्धारण गर्न युएससीआईएसका अधिकारीले ८ वटा मुख्य मापदण्डहरुको प्रयोग गर्छन् ।

युएससीआईएसका अनुशार बेरोजगारी विमाबाट आउने रकमलाई पब्लिक चार्जमा गणना गरिदैन । युएससीआईएसले पब्लिक चार्जबारेको फेडरल रजिस्टरमा प्रकाशित अन्तिम नियममा यसबारे प्रस्टसँग बताएको छ । सुचनाको पृष्ठ ४१३९० मा युससीआईएसले बेरोजगारी विमाको रकम पब्लिक चार्जमा गणना नहुने स्पष्ट पारेको छ ।

परिवारको पुनर्मिलन

बाइडेनले कार्यकारी आदेशमार्फत ट्रम्प कार्यकालमा विछोडिएका परिवारको पुनर्मिलनका लागि टास्क फोर्सको व्यवस्था गर्ने जनाइएको छ । ट्रम्पको शुन्य शहनशीलता नीतिका कारण सिमाक्षेत्रमा कैयन परिवारहरु विछोडिन पुगेका छन् ।

मार्च ३१ सम्मको आप्रवासन रोक खारेज

बाइडेनले मार्च ३१ सम्म डिभी लोटरी लगायतका विभिन्न आप्रवासी र कामदार भिसामा लगाएको रोक कार्यकारी आदेशमार्फत खारेज गर्ने भएका छन् । महामारीका कारण उत्पन्न आर्थिक मन्दीमा अमेरिकी कामदारलाई संरक्षण प्रदान गर्न भन्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च ३१ सम्मका लागि विभिन्न प्रकारका आप्रवासी भिसा र कामदार भिसामा रोक लगाएका थिए ।

बाइडेनले उक्त आप्रवासन रोकलाई खारेज गर्न कार्यकारी आदेश जारी गर्ने ह्वाइटहाउसका अधिकारी इस्थर ओलाभारियाले मेयरहरुसँगको एउटा भर्चुअल बैठकमा बाताएका हुन् । तर त्यस्तो कार्यकारी आदेश कहिले जारी गर्नेभन्नेबारे केही खुलाइएको छैन । इस्थर ओलाभारिया राष्ट्रपति बाइडेनका एकजना उच्च अध्यागमन सल्लाहकार हुन् भने ह्वाइट हाउसका घरेलु नीति काउन्सिलका डेपुटी डाइरेक्टर समेत हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com