एकैपटक एकमहिना थपियो अध्यागमन अदालतको सुनुवाई स्थगन, मार्च १९ अगाडि नखुल्ने


प्रकाशित मिति : माघ २८, २०७७ बुधबार

न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई मार्च १९ सम्म स्थगित भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले आज एक सुचना जारी गरेर एकैपटक एकमहिनाका लागि सुनुवाई स्थगन थपिएको जानकारी दिएको हो ।

मार्च १९ सम्म नियमित सुनुवाई स्थगित गरेकोमा त्यसपछिको सप्ताहन्तका कारण कम्तीमा मार्च  २२ सम्म स्थगित भएको छ ।  न्युयोर्कको भेरिक स्ट्रीट र फेडरल प्लाजामा रहेका अध्यामगन अदालतहरु हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि कम्तीमा मार्च  २२  सम्म बन्द रहनेछन् ।

यी अदालतहरुमा फाइलिङ र हिराशतमा रहेकाहरुको सुनुवाई भने जारी नै रहेको छ । त्यस्तै न्युयोर्कको ब्रोडवेमा रहेको अध्यागमन अदालत पनि फाइलिङका लागिमात्र खुल्ला रहेको छ ।

अध्यागमन अदालतमा सुनुवाईहरु स्थगित हुँदा सयौं नेपालीहरु प्रभावित भएका छन् । बर्षौदेखि एसाइलमका मुद्दाको सुनुवाई कुरेर बसेका र परिवारसँग पुनर्मिलनको प्रतिक्षामा बसेका नेपालीहरु अदालत बन्द भएका कारण सुनुवाई पछाडि सर्दा मारमा परेका हुन् । कोरोनाको महामारी सुरु भएदेखि नै मार्चदेखि अध्यागमन अदालतहरु प्रभावित हुँदै आएका छन् ।

अध्यागमन अदालतमा हिराशतमा रहेकाहरुबाहेक अन्यको सुनुवाई हुन नसक्दा कैयन नेपालीहरु मारमा परेका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीहरुका पेन्डिङ केसहरु अझ बढेका छन् ।

एक्सक्लुसिभ: अमेरिकी अध्यागमन जेलमा ७९ नेपाली, बाइडेनकालमा रिहा हुने आशा

अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीहरुका झण्डै ४ हजार केसहरु पेन्डिङ रहेका छन् । नेपालीका अधिकांश अध्यागमन केसहरु एसाइलमसँग सम्बन्धित रहेका छन् । पछिल्लो समयमा मेक्सिकोबाट अमेरिकी सिमाक्षेत्रमा आएर विना भिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेर एसाइलम दावी गर्ने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com