साँच्चिकै असुरक्षा छ त प्रधानमन्त्रीलाई ?
प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार
प्रधानमन्त्री केपी ओलीको सुरक्षामा चारवटै सुरक्षा निकाय खटिन्छन्। पहिलो घेरामा ब्रिफकेसमा बुलेटप्रुफ प्लेटहरू र अत्याधुनिक मेसिनगन लिएका सैनिक खटिन्छन्। दोस्रो घेरामा नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालित हु्न्छन्। २ सयभन्दा बढी सुरक्षाकर्मी प्रधानमन्त्री ओलीकै सुरक्षाका लागि खटिन्छन्।
तर ओलीले सोमबार पोखरा पुगेर भने–ममाथि शारीरिक हमला नै भयो भने अनौठो नमाने हुन्छ। पोखरामा सोमबार आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘ममाथि शारीरिक हमला नै भयो, ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमाने हुन्छ, त्यस्तो हुन दिइनेछैन, हामी सतर्कता अपनाउँछौं।’
उनले आफू नरहे पनि प्रतिक्रियावादीसँग घुँडा नटेक्न पनि कार्यकर्तालाई आव्हान गरे। ‘म रहिनँ भने पनि पार्टी छ, आन्दोलन छ, यस्ता प्रतिक्रियावादीसँग घुँडा टेक्नु हुँदैन, पार्टीलाई तलमाथि पर्न दिनुहुन्न।’
तर सुरक्षा अधिकारीहरुले प्रधानमन्त्रीलाई तत्काल त्यस्तो सुरक्षा थ्रेट नभएको बताएका छन्। के बोल्दा असर पर्छ भनेर प्रधानमन्त्रीले बुझ्नुपर्ने उनीहरुको भनाइ छ।