अघि बढ्यो सरकार र विप्लव समूहबीच वार्ताको प्रक्रिया, दुवै पक्षबाट वार्ता टोली गठन


प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच वार्ताको प्रक्रिया अघि बढेको छ।

सरकार र सो समूहले आ–आफ्ना तर्फबाट वार्ता टोली गठन गरेपछि औपचारिक रुपमा वार्ताको प्रक्रिया अघि बढेको हो। सरकारले २०७५ फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाएको दुई वर्ष पुग्न केही दिन बाँकी रहँदा वार्ताको प्रक्रिया अघि बढेको हो।

सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्व र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहने गरी वार्ता टोली गठन गरेको छ। लगत्तै विप्लव समूहले पनि खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा उदय चलाउने ‘दीपक’ सदस्य रहने गरी वार्ता टोली गठन गरेका छन्।

केही समयअघि नख्खु जेलमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई खानेपानीमन्त्री मणि थापाले भेटेका थिए। त्यसपछि सरकार र विप्लव समूहबीच वार्ताको वातावरण निर्माण भएको बताइएको छ। केही दिनअघि पनि विप्लवले पार्टी वार्ताका लािग सकारात्मक भएको भन्दै विज्ञप्ति जारी गरेका थिए।

गत आइतबार पनि प्रधानमन्त्री केपी ओलीले झापामा आयोजित एक कार्यक्रममा विप्लवसँगको वार्तालाई निष्कर्षमा पुर्‍याएरै छाड्ने र त्यो खुसीको खबर जनताले छिट्टै पाउने दाबी गरेका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com