माधव नेपाल पक्ष : ओलीको निर्णय अवैधानिक, शनिबार केन्द्रीय कमिटी बैठक र ४ चैतमा राष्ट्रिय भेला गर्ने निर्णय


प्रकाशित मिति : फाल्गुन २८, २०७७ शुक्रबार

नेकपा एमालेको माधव नेपाल पक्षले ओली पक्षको निर्णयलाई अवैधानिक ठहर गरेको छ। शुक्रबार राति बसेको स्थायी कमिटीको आकस्मिक बैठकले उक्त निर्णय पार्टीलाई विभाजनतर्फ लैजाने काम भएको निष्कर्ष निकालेको छ।

बैठकले केपी ओली पक्षको निर्णयविरुद्ध सशक्त रुपमा विरोध गर्न देशभरका नेता–कार्यकर्तालाई आव्हान गर्ने निर्णय गरेको छ।

बैठकपछि नेता भीम रावलले ओलीको स्वेच्छाचारी निर्णयविरुद्ध एमालेका देशभरका नेता–कार्यकर्तालाई विरोधमा उत्रन आव्हान गरेको जानकारी दिए।

बैठकले बालुवाटारको निर्णयलाई अवैध भन्दै त्यसप्रति खेद व्यक्त गरेको छ। ‘नेकपाको एकतालाई भंग गरेर नपुगेर एमालेलाई समेत फुटाउने दुराशय राखेर यो काम गरेको हुनुपर्ने निष्कर्ष बैठकले निकालेको छ,’ नेता रावलले भने, ‘यो अनधिकृत, गुटगत र स्वेच्छाचारी कामको विरोध गर्छौं, अस्वीकार गर्छौं।’

यसैबीच, माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने भएको छ। बैठक शनिबार ११ बजे बोलाइएको छ। यस्तै, ४ चैतमा राष्ट्रिय भेला गर्ने निर्णय पनि सो पक्षले गरेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार भएको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षलाई कारबाही गर्दै प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष तथा सचिव र विभागहरुको जिम्मेवारी हेरफेर गरेको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com