चैत ४ र ५ को राष्ट्रिय भेला नरोक्ने नेपाल पक्षको निर्णय
प्रकाशित मिति : चैत्र २, २०७७ सोमबार
नेकपा एमालेको माधव नेपाल पक्षले चैत ४ र ५ गतेको राष्ट्रिय भेला नरोक्ने भएको छ। नयाँबानेश्वरस्थित अर्याल होटलमा भएको नेपाल पक्षको बैठकले यस्तो निर्णय गरेको हो।
पार्टी कार्यालय धुम्वाराहीमा बिहान आयोजित केपी ओली पक्षसँगको वार्तामा राष्ट्रिय भेला रोक्न आग्रह गरिए पनि नेपाल पक्षले भेला नरोक्ने निर्णय गरेको हो। ओली पक्षसँगको वार्तालगत्तै नेपाल समूहले बानेश्वरमा भेला गरेको थियो।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता रघुजी पन्तले भेलामा माधवकुमार नेपालले बिहान ओलीसँग भएको भेटवार्ताको बारेमा ब्रिफिङ गरेको बताए।
उनले चैत ४ र ५ गते आफूहरुले गरेको राष्ट्रिय भेला नरोक्ने जानकारी दिए। तर यसबीचमा सहमति भए ओलीले चैत ७ मा बोलाएको केन्द्रीय समितिको बैठकमा भने जाने मनस्थितिमा नेपाल पक्ष छ।