भारतसँगको खुला सीमा बन्द गर्न सरकारलाई सुझाव
प्रकाशित मिति : चैत्र ६, २०७७ शुक्रबार
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले भारतसँगको खुला सीमा बन्द गर्न सरकारलाई सुझाव दिएका छन्। संसदमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले भारतसँगको सीमा बन्द गर्न सरकारलाई सुझाव दिएका हुन्।
नेपालमा भारतको हस्तक्षेप बढेको भन्दै खुला सीमा बन्द गर्न सरकारलाई सुझाव दिए।
‘कालापानी, लिपुलेक र लिम्पियाधुराबारे नेपालले कहिल्यै दावी नउठाउने र एमसीसी सम्झौता पारित गर्ने शर्तमा भारतको संलग्नतामा प्रतिनिधिसभा पुनःस्थापना गरिएको अनुमान छ,’ उनले भने, ‘नेपालमा अब भारतअनुकूल सरकार गठन हुने पनि बताइयो। यस्ता उपद्रोहरू दोहोरिन नदिन भारतसँगको खुला सीमा बन्द गनु जरुरी छ।’
लेन्डुप दोर्जेले पनि भारत अनुकूल संसद र सरकार बनाएर सिक्किमलाई भारतमा विलय गर्न लगाएको स्मरण गराउँदै उनले यस्तो देशघाती काम नेपाली जनतालाई स्वीकार्य नहुने उल्लेख गरे।
अहिलेसम्मका प्रधानमन्त्रीहरूले खुला सीमा किन बन्द गरेनन् नेपाली जनताको प्रश्न बनेको उनको भनाइ थियो।