एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने
प्रकाशित मिति : चैत्र १०, २०७७ मंगलबार
एमाले केन्द्रीय कार्यालय थापाथलीमा सर्ने भएको छ। कार्यालयलाई धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालयबाट थापाथली हाइटस्थित उमंगमार्गमा सारिन लागिएको हो।
पासाङल्हामु स्मृति प्रतिष्ठान खाली गर्न भनिएपछि एमालेले कार्यालय सार्न लागेको हो। एमालेका एक नेताका अनुसार बुधवार कार्यालय सार्ने मिति टुंगो लाग्नेछ भने सम्झौता पनि हुनेछ।
२०७२ वैशाखको भूकम्पमा बल्खुस्थित पार्टीको भवन भत्किएपछि २०७२ साउन २३ गतेदेखि पार्टी कार्यालय धुम्बाराहीमा सारिएको थियो।
थापाथली हाइटस्थित अब केन्द्रीय कार्यालय रहने भवन ३ रोपनीभन्दा ठूलो क्षेत्रफलमा फैलिएको छ।
एमालेले मदननगर बल्खुमा पनि चाँडै पार्टी कार्यालय शिलान्यास गर्दैछ ।