बाँकेमा बस र टिपर ठाेक्किँदा ५ जनाकाे मृत्यु, ४१ घाइते


प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार

बाँकेको कोहलपुरनजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु भएकाे छ। दुर्घटनामा ४१ जना घाइते भएका छन्।

सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिपर साँझ ६ बजे रोहिणी खोलानजिक ठोक्किएकाे हाे। दुर्घटनामा चार पुरुषसहित एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

खनालका अनुसार दुर्घटनामा परी टिपरका चालकसहित दुई र बसमा सवार तीन गरी पाँच जनाको मृत्यु भएको हो। सुर्खेत साटाखानी निवासी जीवनकुमार न्यौपानेको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चारको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।

घाइतेलाई कोहलपुरस्थित शिक्षण अस्पताल पुर्‍याइएको छ । अन्य मृतकको शुक्रबाररातिसम्म सनाखत हुन सकेको छैन। घाइतेमध्ये सातको अवस्था गम्भीर, १४ को मध्यम र २० जनाको सामान्य अवस्था रहेको प्रहरी नायव उपरीक्षक खनालले बताए।

दुर्घटनामा घाइते भएका व्यक्तिको उद्धारका लागि दुई क्रेन र तीन स्काभेटर प्रयोग गर्नुपरेको थियो । पूर्णरुपमा क्षतिग्रस्त बस र टिपरभित्र रहेका घाइतेको उद्धारकालागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com