माओवादी केन्द्र : समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई


प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सो निर्णय लिएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको विषयमा लिखित जानकारी दिने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको बताए।

‘वर्तमान सरकारलाई समर्थन नरहेको बारेमा औपचारिक जानकारी कहिले दिने भन्नेबारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिने निर्णय बैठकले गरेको छ,’ श्रेष्ठले भने।

बैठकले राष्ट्रको एकता, स्वाधीनताको रक्षा र संविधानको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूसँग एकता गरेर अगाडि बढ्ने निष्कर्ष निकाल्दै सबै राजनीतिक पार्टी र सामाजिक शक्तिहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

यसैगरी विधान संशोधन कार्यदलले प्रस्तुत गरेको संशोधित विधानको मस्यौदालाई प्रस्तावको रूपमा केन्द्रीय कमिटीमा पठाउने निर्णय पनि बैठकले गरेको छ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनलाई पनि केन्द्रीय कमिटी बैठकको प्रस्तावको रूपमा अगाडि बढाउने निर्णय स्थायी कमिटी बैठकले गरेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com