नेपालमा २४ घण्टामा थपिए २५५९ कोरोना संक्रमित
प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार
नेपालमा कोरोना संक्रमण तीव्र हुँदै गएको छ। शुक्रबार २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। ९ हजार ६ सय ६४ नमूना परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ भेटिएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ।
यस्तै, २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन्। नेपालमा निको हुनेहरुको संख्या २ लाख ७६ हजार ७ सय ५५ रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ पुगेको छ।
२४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु संख्या ५ रहेको र १ नयाँ मृत्युको घटना भएको मन्त्रालयले जनाएको छ।
अनिवार्य मास्क प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह
यसैबीच, ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा मास्क प्रयोग गर्न आग्रह गर्दै शुक्रबारदेखि सचेतनामूलक अभियान सञ्चालन गरेको हो।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सार्वजनिक सवारी साधनमा कोरोना सङ्क्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
ट्राफिक प्रहरीले सडकमा बसेर पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम गरेको हो। पछिल्लो समय नेपालमा दैनिक दुई हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ। यातायात व्यवस्था विभागका अनुसार काठमाडौँ उपत्यकामा १० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन्।