नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक, देशभरका सबै विद्यालय बन्द


प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान सरकारले रोक लगाएको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले नेपाल हुँदै तेस्रो मुलुक जाने विदेशी नागरिकलाई तत्कालका लागि रोक लगाउने निर्णय गरेको हो । यो निर्णयबाट भारतीय नागरिकहरुले अब नेपालको बाटो हुँदै विदेश जान नपाउने भएका छन् ।

सीमा नाका नेपालीलाई खुला गरिएपनि गैरनेपालीको हकमा भने विशेष अवस्थामा बाहेक आवतजावत गर्न दिइने छैन ।

बैठकले विदेशबाट नेपाल आउनेलाई भने अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने निर्णय गरेको छ । विदेशबाट आउने नेपालीसहितका यात्रु अनिवार्य रुपमा होटल क्वारेन्टीनमा बस्नुपर्ने छ । होम क्वारेन्टीनमा बस्दा निगरानी गर्न कठिनाइ हुने भएकाले त्यस्ता यात्रुहरुले तोकिएको समयसम्म होटल क्वारेन्टीनमा बस्नुपर्ने बैठकले निर्णय गरेको छ ।

यसअघि त्यस्ता यात्रुलाई होटल क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था थिएन।  उनीहरु आफ्नै घरमा क्वारेन्टाइनमा बसेपनि हुने व्यवस्था रहेकोमा हाल होटल क्वारेन्टाइन नै अनिवार्य गरिएको हो ।

सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि  बैठकले  आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै अर्को निर्णय नभएसम्मका लागि देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सीसीएमसी बैठकले दिएको सुझावलाई अनुमोदन गर्दै मन्त्रिपरिषद बैठकले वैकल्पिक विधिबाट कक्षा संचालन र परीक्षा लिने निर्णय गरेको हो । यस्तै भौतिक उपस्थितिमा लिइने सबैप्रकारका परीक्षा पनि स्थगित भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com