लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, अर्को व्यवस्था नभएसम्म अहिलेकै मन्त्रिपरिषद्
प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले आज पदबाट राजीनामा दिएका हुन् ।
प्रदेश प्रमुख धर्मराज यादवसमक्ष राजीनामा पेश गरेको र राजीनामा स्वीकृत भएको प्रदेश प्रमुखको कार्यालयबाट जारी वक्तब्यमा जनाइएको छ । संविधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार संचालन गर्न तोकिएको वक्तब्यमा उल्लेख छ ।
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेसन आजबाट सुरु हुदै छ । मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूचिका बीच राजीनामा दिएको जनाइएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो।
मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्न ४१ सांसद आवश्यक पर्छन् । एमालेको कुल सांसद संख्या पनि ४१ नै हो । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।
दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए।