नेपालमा एकै दिन ५५ कोरोना संक्रमितको मृत्यु, ७५८७ मा संक्रमण पुष्टि
प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार
नेपालमा पछिल्लो २४ घण्टामा ५५ कोरोना संक्रमितको मृत्यु भएको छ। एकै दिन यति धेरै संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलोपटक हो। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ।
यस्तै, नेपालमा २४ घण्टामा ७ हजार ५ सय ८७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा गरी १६ हजार १३१ जनाको आरटी–पीसीआर तथा
५७१ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
उपत्यकामा थपिए ३८९३ संक्रमित
यस्तै, काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ८ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएका परीक्षणका क्रममा उपत्यकामा ३ हजार ८ सय ९३ संक्रमित थपिएका हुन्।
संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७७९ छन्। यस्तै, ललितपुरमा ६०१ र भक्तपुरमा ५१३ जना संक्रमित थपिएका हुन्।