माधव नेपालसहित चार नेताको निलम्बन फुकुवा
प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार
सत्तारुढ नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहितका चार नेतामाथिको निलम्बन फुकुवा गरेको छ।
बिहीवार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ६ महिनाका लागि निलम्बन गरिएकाहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो। नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय भएको हो।
नेता सुवास नेम्वाङले पार्टी एकतालाई बचाउन चार नेतामाथिको कारबाही फुकुवा गर्ने निर्णय भएको बताए। पार्टीहितविपरीतका कार्य गरेको भन्दै एमालेले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई निलम्बन गरेको थियो।
सबै अधिकार ओलीलाई
यसैबीच, एमालेले पार्टीको विवाद समाधान र राष्ट्रिय राजनीतिका विषयमा निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
निलम्बन फुकुवाको निर्णयभएलगत्तै एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच क्याप्टेन रामेश्वर थापानिवास बुढानीलकण्ठमा वार्ता भएको छ।