निषेधाज्ञा खुकुलो भएसँगै बढे संक्रमित, २७६० मा संक्रमण पुष्टि, ३३ को मृत्यु
प्रकाशित मिति : असार १७, २०७८ बिहीबार
निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। दैनिक दुई हजारभन्दा तल झरेको संक्रमण संख्या निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थालेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ। पिसिआरमार्फत् ७ हजार १३० र एन्टिजेनमार्फत् ३ हजार ८५५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो विवरण अनुसार ३३ जनाको निधन भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या दुई दिनअघिमात्रै २० मा झरेको थियो।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट ९ हजार १४५ ले ज्यान गुमाइसकेका छन्।
बिहीबार देशभर ३१ हजार ३६८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा ४ हजार १७ जना निको भएका छन्। योसँगै नेपालमा संक्रमणबाट निको हुनेको संख्या ६ लाख १४९ पुगेको छ।
यस्तै, काठमाडौं उपत्यकामा ४१९ संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा सबैभन्दा बढी ३१६ जना रहेका छन्। यसैगरी भक्तपुरमा २९ र ललितपुरमा ७४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।