चीनको भेरोसेल खोप खरिदको सम्झौता, खोप लिन असार २४ गते विमान जाने, साप्ताहिक आपूर्तिको तयारी
प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार
नेपाल सरकार र चीनको बेइजिङस्थित साईनोफार्म कम्पनीसँग भेरोसेल खोप खरिदको बारेमा सम्झौता भएको छ । पछिल्लो सम्झौताअनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिकरुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल वायुसेवा निगमले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउनेछ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।
खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ । पहिलो उडानमा १० लाख मात्रा खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको छ ।
खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसका साथै गाभी कोभ्याक्स फ्यासिलिटीबाट पनि छिट्टै खोप प्राप्त गरी कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने मन्त्रालयले जानकारी दिएको छ ।
यही असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा प्रदान गरिँदैछ । हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ भने आजसम्म जनसंख्याको २५ लाख ७४ हजार ७१५ जना अर्थात् ९ प्रतिशतले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जना अर्थात् ३ प्रतिशतले दोस्रो मात्रा कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् ।
कोभिशिल्डको पहिलोमात्रा लगाएका झण्डै १४ लाखले भने दोश्रो मात्रा लगाउन पाएका छैनन् ।