मैले कमजोरी गर्दा संसार छाडिसकेकी मेरी आमालाई दोष !


प्रकाशित मिति : असार १९, २०७८ शनिबार

– अस्मिता खड्का

मन अलिबढी हतास र निराश भयो कि आमाको धेरै याद आउँछ । साथीहरु भन्छन् – ‘आमाको मायामा जाधु हुन्छ । आमाको काख र साथ स्वर्ग हो । मलाई त, तनाव भयो कि आमालाई फोन गर्दछु ।’

यो कुराले आफुलाई  भने झनै पीडा थपिदिन्छ । अनि उनीहरुको अनुहारमा छचल्कने खुशी, आफुमा खोज्दछु तर पाउँदिन । आमासँगका तितामिठापलहरु मेरो सम्झनामा छैनन् । किनकी आमाको मृत्युहुँदा म सानै थिएँ ।

मेरो आमाको मसँग एउटा श्यामश्वेत फोटो बाहेक अरु केही छैन । जसलाई म सधै लुकाएर राख्छु । आमाको फोटो देख्नेगरी राख्ने आँट ममा छैन ।

फोटो देख्यो कि बाल्यकालमा भोगेका नमिठा अनुभवले पोल्न थाल्छन् । माया देखाएर पीडादिनेहरुको अनुहार वरिपरि घुम्न थाल्छ ।
मलाई राम्रोसँग सम्झना छ, मेरा आफन्त र छिमेकीले बोलेका कुराहरु ।

‘बिचरा, आमा खाईहालिस् । नानी यता आइज त, कपाल कोरिदिन्छु ।’
‘हेर् त, लुगा कस्तो बनाएर लगाएको? आमा खाईहालिस्, के गर्छेस्, हेर्दा यस्तो राम्रो छ ! अभागी मोरी ।’
‘आमा खान जन्मेकी रहेछ ।’

यस्ता शब्दहरु मेरा बाल्यकालका दैनिकी थिए । विहान उठेदेखि ओछ्यानमा नपुग्दासम्म सुन्नै पर्ने कुराहरु थिए ।

केही काम बिग्रियो भने पनि आमालाई नै दोष : ‘आमा भए पो सिकाउँथी,आमा खाईहाली !’

उनीहरुको नजरमा म एउटा आमा खाने छोरी थिएँ । तर त्यही कुरा मेरो दाजुहरुले कहिल्यै सुन्नु परेन । मैले काम बिगार्दा समाजले मेरो बुबालाई त्यस्तो दोष कहिले दिएन ।

आमा पाठेघरको रोगका कारण बितेको कुरा दिदी र दाजुहरुले म ठूलो भएपछि सुनाउनु भएको थियो ।

अलि बुझ्ने भएपछि ममाथि लाग्ने आरोपका विरुद्ध बोल्न थालें । त्यसपछि मानिसहरु त्यही मरेकी मेरी आमालाई दोष दिदै भन्न थाले – ‘आमा भए पो सिकाउँथी । मुखमुखै लाग्छे, चोथाले ।’

माया देखाएर पीडा दिनेहरु प्राय आफन्त नै हुन्छन् । कमजोर मानिसलाई अझ कमजोर कसरी बनाउन सकिन्छ भन्ने कुरा आफन्तले भन्दा बढी अरु कस्ले जानेको हुन्छ ?

उनीहरुको तिरस्कारले मलाई हजारौँ पटक रुवायो । म रोएको देखेर मेरो आमा कतैबाट आउनुहुन्छ कि भन्ने लाग्दथ्यो । तर यो संसारमै नभएकी मेरी आमा कहाँबाट फर्कनु ?

दुई हातले आँशु पुछ्दै उठेर हिँड्थें ।

आमा विनाको हुर्काई र मेरा हरेक कुरामा आमालाई जबर्जस्त दोषदिने सामाजले मलाई धेरै पटक परीक्षा लिँदै आएको छ ।

उनीहरु लडाउन खोज्छन्, म उठेर हिड्छु ।

हरेक मानिसका जीवनमा फरक खालका अनुभव र भोगाईहरु हुुन्छन् । यो मेरो जीवनको सबैभन्दा कष्टपूर्ण भोगाई मध्येको एक हो ।

मेरो जस्तो भोगाई अरुहरुले नभोगेको पनि हुनसक्छ । मेरो कुरा धेरैको लागि सामान्य र अर्थहीन पनि लाग्न सक्छ । तर, यो सामान्य थिएन । यो समाजले म माथि गरेको विभेदको एउटा रुप हो । जोसँग म बाल्यकालदेखि जुध्दै आएकी छु ।

अहिले पनि हाम्रो समाजमा हरेक महिलाले सुन्नैपर्ने कुरा हो – ‘आमाले सिकाएको भए पो, काम गर्न जानेकी हुन्छे ।’

यहाँ कुरा बुबाको आउँदैन । यस्ता कुराहरु महिलाहरुले सुन्नैपर्छ, चाहे आफुलाई भनेको होस्, वा अर्को कुनै महिलालाई । अझ सबैभन्दा बढी त विवाहपछि बुहारीहरुले पाइला, पाइलामा सुन्नैपर्छ ।

छोरीहरुको कुरामा आमालाई दोस दिने हाम्रो समाज रुपमा केही परिवर्तन अवश्य भएको छ । त्यो हो पर्दापछाडीबाट बोल्नु ।

झट्ट सुन्दा लाग्छ, अहिले त यस्तो छैन, यो त पुरानो कुरा हो ।

हो, यो पुरानो कुरा हो । तर हरेक घरमा अहिले पनि रुप परिवर्तन गरेर बास बसेकै छ । आफूलाई आधुनिक र पढेलेखेको सभ्य परिवार सम्झनेहरुले स्वीकार गर्दैनन् पनि ।

तर शिक्षा र सामाजिक चेतना फरक कुरा रहेछन् । सबै शिक्षित व्यक्ति चेतनशील नहुने रहेछन् ।

‘आमाले सिकाएको भए पो, काम गर्न जान्दथ्यो’ भनेर छोराहरुलाई किन भनिदैन ।

किनकी ऊ पुरुष हो । उसले जे गरेपनि समाजले सजिलै पचाउँछ ।

समाजमा घट्ने घटनाहरुमा महिला भन्दा पुरुषको दोष कम देखाइन्छ ।

दोषी ठहर भएपनि पुरुषहरुलाई केही समयपछि समाजले सजिलै स्वीकार गर्दछ । तर पीडित हुँदाहुँदै पनि महिलाले जीवनभर तिरस्कार भोग्नुपर्ने हुन्छ ।
यसको मतलब महिलाले गलत गर्नुपर्छ भन्ने पटकै होइन । गलत कसैले गर्नुहुँदैन ।

यस्ता कुराले विभेदविरुद्ध बोल्नुभन्दा सम्झौता गर्ने कुराको विकास गरिदिन्छ, जसलाई समाजले सभ्यता ठान्दछ । जसले महिलालाई सानैदेखि कमजोर बनाउन भूमिका खेलिरहेको छ ।

यही कुरा छोराहरुलाई सिकाईदैन । यदि यो कुरा छोराहरुलाई सिकाएको भए रातदिन छोरीहरु जल्नुपर्ने, मारिनु पर्ने, आफ्नै घरमा कुटिनुपर्ने र बलात्कृत भइरहनुपर्ने थिएन ।

आमालाई दोष दिन छोड ।

विभेदकारी सोंचले भरिएको मगजका विरुद्ध हल्लाबोल !

Ashmita Khadka
अस्मिता खड्का
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com