वामदेव गौतमले दिए एमाले उपाध्यक्ष पदसहित सबै जिम्मेवारीबाट राजीनामा


प्रकाशित मिति : भाद्र १८, २०७८ शुक्रबार

वामदेव गौतमले  नेकपा एमालेको उपाध्यक्ष पद लगायत सबै जिम्मेबारीबाट राजिनामा दिएका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् ।

गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा गौतमले पटकपटक व्यक्तिगत सुझाव दिँदा पनि ओली व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन्।

राजीनामा पत्रमा प्रतिनिधिसभा भङ्गदेखि पार्टी सञ्चालनमा अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरिएको छ।

राजीनामा पत्रमा लेखिएको छः “म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईँकै गलत विचार प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोलेआजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु।”

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।

नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका गौतम एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका थिए । गौतमले एमालेबाट राजीनामा दिए पछि अब के गर्ने भन्ने बताएका छैनन् ।

२०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका हुन् । उनी राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com