कुशको धार्मिक र आयुर्वेदिक महत्व: वैज्ञानिक दृष्टिकोणबाट कुशको प्रयोग लाभदायक
प्रकाशित मिति : भाद्र २२, २०७८ मंगलबार
हिन्दूहरू कुशलाई भगवान विष्णुको प्रतीक मान्छन् ।
कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिन्छ ।
ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
यज्ञादी कर्म गरिँदा कुशको आहुति केतु ग्रहलाई वैदिक मन्त्रकासाथ दिने चलन छ । यज्ञ गरिँदा यज्ञकुण्डको चारैतिर कुश ओछ्याइन्छ र रात्रिकालमा शुद्ध पानीमा भिजाएर राखेको कुशको पानीको प्रयोग वीणादि कलश स्थापना गरिँदा कलशमा राख्ने चलन पनि छ ।
कुशको आयुर्वेदिक महत्व
वैज्ञानिक दृष्टिकोणबाट कुशको प्रयोग लाभदायक मानिएको छ । भनिन्छ – कुशले बनेको गुन्द्री वा चटकीमा नियमित बसाइले उच्च रक्तचापका विरामीलाई लाभ हुन्छ ।
आयुर्वेदिक उपचारमा पनि कुशको खास महत्व छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधि बनाइन्छ । कुशको प्रयोग श्वास, दाह, रक्तपित्त, रक्तविकार, तिर्खा, मिर्गौलाको पत्थरी, मानव शरीरको रक्तसँग सम्बन्धित रोग तथा जण्डिस, छालामा देखिएका खटिरा आदिको उपचारमा गर्न सकिन्छ ।
कुश मानवले धारण गर्दा आयु बढ्ने र प्रदूषित वातावरण नास गर्ने र यसलाई पानीमा डुबाउँदा पानी शुद्धीकरण हुने विश्वास छ । जप, पूजापाठ र यज्ञ गरिँदा त्यसबाट शक्ति रक्षा गरिदिने कुशलाई आसनको रुपमा प्रयोग गरिन्छ ।
जप, ध्यान, पूजा, हवन र श्रद्धा गर्दा पृथ्वीको गुरुत्वाकर्षणले मानवदेहलाई प्रभाव पार्न नसकोस, रोग फैलाउने भाइरसहरु निस्क्रिय होउन् भनेर कुशको प्रयोग गरिन्छ ।
ग्रहण लागेको समयमा दही, दूध, अन्न, पानी तथा अन्य खाद्य वस्तुहरुमा कुश राखिदिदिएमा ग्रहणकालमा निस्किएका अशुद्ध विकीरणको दुष्प्रभाव नपर्ने विश्वास छ ।
(नोट: समाचारमा उल्लेख गरिएका विवरणहरु स्वास्थ्य सल्लाह होइनन् । स्वास्थ्य सल्लाहका लागि प्रामाणिक चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।)