सिंगापुरबाट नेपाल फर्किएर २४ बर्षदेखि ह्याण्डसम पार्लर चलाइरहेका पूर्व शिक्षक दुर्गाबहादुर


प्रकाशित मिति : भाद्र २२, २०७८ मंगलबार

दुर्गाबहादुर विष्टले हेटौंडामा बसेर सैलुन चलाएको २४ वर्ष भयो । विहान सबेरै उठेदेखि साँझ अबेरसम्म उनी आफ्नो सैलुनमा ग्राहकको कपाल काट्दै गरेको भेटिन्छन् । यो २४ वर्ष र त्यसअघि विष्टले जति सङ्घर्ष गरे त्यो सबैको लागि प्रेरणाको विषय छ । 

शिक्षण पेशा छाडेर सिंगापुरतिर, फर्केपछि ह्याण्डसम पार्लर

२०४९ सालतिर विष्टले झापा, सिन्धुपाल्चोक र नुवाकोटमा शिक्षण पेसा पनि गरे । त्यसपछि उनी शिक्षण पेसा छोडेर २०५१ सालमा सिंगापुर गए । कमर्समा स्नातक अध्ययन गरेका उनी होटलमा काम गर्न सिंगापुर पुगेका थिए ।

केही महिना त्यहाँ काम गरेपछि उनले होटल छोड्नुपर्ने भयो । होटलसंगै रहेको कोलोराडो ह्याण्डसम प्लस ब्यूटीपार्लरमा कपाल काट्ने तालिम लिए ।

कपाल काट्ने र अन्य श्रृगारका काम गर्ने सो पार्लरमा उनले मेहनतका साथ यो पेसा सिके । त्यसपछि नेपाल फर्किएर हेटौडामा कोलोराडो ह्याण्डसम पार्लर सुरु गरेका उनले अहिलेसम्म यही पेसालाई निरन्तरता दिँदै आइरहेका छन् ।

भन्छन् – ‘निरन्तर एउटै पेसामा मानिस अडिन सक्यो भने उसको प्रगतिलाई कसैले रोक्न नसक्ने रहेछ ।’

पेशाप्रतिको सोंच परिवर्तन

हेटौंडा आएपछि विष्टको केही उद्योगपतिहरुसँग चिनजान भयो । ती उद्योगीहरु पनि विष्टकै सैलुनमा कपाल र दाह्री काट्न आए ।

हेटौंडा नगरपालिकाले विष्टलाई यही विषयको प्रशिक्षक पनि बनायो । जसका कारण समाजमा उनको पहिचान पनि बढ्दै गयो ।

पढेलेखेको मान्छेले यस्तो पेसा गर्नै हुन्न भनेर भन्ने धेरै युवाहरुको माझमा उनी फरक देखिए ।

‘काम गर्न लाज मानेर काज चल्छ त?’ उनले भने – ‘मैले लाज नमानी यो पेसालाई अघि बढाएँ जसको परिणाम स्वरुप मेरो जीवन सहज भएको छ ।’

गुणस्तरीय सेवा दिएपछि एक अर्को गर्दै उनलाई पुग्दो नियमित ग्राहक जम्मा भएका छन् । सैलुन सुरु गर्दाका ग्राहकहरु अहिले पनि उनैकोमा आउँछन् । उनले कोलोराडो चलाएपछि केही युवाहरुले पनि हेटौंडामा यस्तै सैलुनहरु सञ्चालनमा ल्याएका छन् । यसले उनमा निकै खुसी थपेको छ ।

‘पहिलेपहिले युवाहरु यस्तो पेसा नि गर्छन् ! भन्थे तर अहिले परिस्थिति फेरिएको छ,’  उनले भने – ‘राम्रो कमाई पनि छ, इज्जत पनि गर्छन् ‘

त्यसैले उनी यो पेसाबाट निकै सन्तुष्ट छन् ।

आफ्नै ५ तल्ले भवनमा सैलुन

झापा जिल्लाको गौरादह बरगाँछी घर भएका उनी २०२६ सालमा ताप्लेजुङमा जन्मिएका हुन् । शिक्षित बेरोजगारको संख्या बढ्दो रहेका बेला उनी सिंगापुर हानिए, सिंगापुरको गुंटा कसेपछि त्यहाँ जे जति सङ्घर्ष गरे त्यसैको उपलब्धी मान्नुपर्छ उनले नेपाल आएपछि सुरु गरेको यो सैलुन ।

सामान्य लगानीमा त्यतिबेला उनले खोलेको सैलुन अहिले हेटौंडाको मुटुमा रहेको आफ्नै ५ तल्ले भवनमा सारेका छन् । दैनिक ५ हजारजस्तो कमाई हुने उनको सैलुनमा कपाल दाह्री काट्न पालो पर्खिनुपर्छ । आफ्नै घरमा सारेपछि उनले सैलुनलाई निकै व्यवस्थित पनि बनाएका छन् ।

उनले सामान्य मानिसदेखि मन्त्रीसम्मको दाह्री कपाल काटेका छन् । कोही भीआइपी हेटौंडा आए भने उनीहरुले कपाल दाह्री काट्ने ठाउँको जून अभाव थियो, त्यो यही सैलुनले पुरा गर्यो । अझ प्रदेश संरचनामा मुलुक गएपछि त उनले केही समय फुर्सद पनि पाएनन् ।

आफ्ना नियमित ग्राहकलाई पनि सेवा दिनै पर्यो त्यसदेखि बाहेक प्रदेश राजधानी भएका कारणले थप नयाँ ग्राहकहरु यहाँ आउन थाले ।

‘मन्त्रीज्यूहरुको सेड्युल साह्रै टाइट हुने र सबैकाम छिटो छरितो गरिदिनु पर्ने !’ अनुभव सुनाउँदै उनले भने ।

उनको सैलुनमा जस्ता ग्राहक आउँछन्, त्यस्तै सेवा दिन्छन् । सेवा प्रदान गर्दा सन्तुष्टीमा भने निकै ध्यान दिनु पर्ने उनले बताए ।

‘ग्राहकलाई सधै सन्तुष्ट पार्न लागेँ,’- उनले भने ।

युवापुस्तामाझ पनि चर्चित

उनको सैलुन युवापुस्तामाझ पनि चर्चित छ । त्यसको कारण हो उनी नयाँ नयाँ डिजाइन फलो गर्छन् ।

युवा पुस्ताका ग्राहकले फलानो कलाकारले बनाएजस्तो कपाल बनाइदिनुहोस् भनेर अनुरोध गरेमा उनी त्यस्तै बनाइ दिन्छन् । स्वदेश तथा विदेशमा निस्किएका नयाँ हेयर स्टाइलहरु यहाँ तत्काल हुबहु गरिदिन्छन् ।

‘अनि त आइहाल्छन् नि !’  उनले खुसी हुँदै भने ।

अमेरिका, अष्ट्रेलिया, यूके, दुवइ, कतार जस्ता देशबाट हेटौंडा फर्किएकाहरु पनि उनकै सैलुनमा कपाल काट्न आउँछन् ।

कमला थापाको कपाल काटे, ज्ञानेन्द्रको पाएनन्

२०५७ तिर उनले राप्रपा अध्यक्ष कमल थापाको पनि कपाल काटेका छन् । राजाको शासनका बेला मध्यमाञ्चल क्षेत्रीय प्रशासक रविन्द्र चक्रवर्तीको पनि कपाल काटे ।

बामगती प्रदेश सरकारका महत्वपूर्ण ओदाहामा बसेकाहरुको पनि दाह्री कपाल उनैले काट्ने गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र हेटौंडा आउने तय हुँदा उनैलाई राजाको कपाल काट्ने निम्तो तत्कालिन क्षेत्रीय प्रशासक चक्रवर्तीले दिएका थिए । उनको सबै डिटेल तयार पारिएको थियो ।

त्यसबेला राजा केही समय हेटौंडामा नै बस्ने भनिएको थियो तर, राजनीतिक झमेलाका कारण राजाको हेटौंडा आउने सेड्युल रद्ध भो, र उनले त्यो जिम्मेवारी पूरा गर्न भने पाएनन् ।

प्रदेश संरचनामा देश गएपछि  व्यवसाय झनै राम्रो

नेपालमा राजनीतिक परिवर्तन भएपछि अझ प्रदेश संरचनामा देश गएपछि त उनको व्यवसाय झनै राम्रो हुन थाल्यो । राजनीतिक र सामाजिक रुपमा हेटौंडामा चहलपहल बढ्न थालेपछि सैलुनमा भ्याइनभ्याई हुन थाल्यो । जसका कारणले उनले केही कर्मचारीहरु पनि थप गरे ।

आएका ग्राहकलाई उसै पठाउन उनलाई मन थिएन । आएकाहरु कोही पनि त्यसै फर्कन नपरोस् भनेर उनले निकै मेहनत पनि गरे । राम्रो कमाइ, सबैको बीचमा राम्रो इज्जत पाउन थालेपछि विष्टलाई झन् उर्जा मिल्न थाल्यो ।

भन्छन्–‘हेटौंडामा मैले सबैको सहयोग पाएँ, जसका कारणले मेरो व्यवसाय स्थापित भएको हो ।’

यही बीचमा उनले हेटौंडाबाट धेरै सम्मान र प्रशांसा पनि पाए । रेडियो थाहा सञ्चारले २०६९ सालको उद्यम र व्यवसाय तर्फको वर्ष सम्मानबाट उनलाई सम्मान गर्यो । हेटौंडाको साम साप्ताहिकले पनि उनलाई उद्यम तर्फ प्रेरणादायी काम गरेको भनेर सम्मान गरेको थियो ।

गजवको व्यवसाय, मनग्य आम्दानी र सामाजमा इज्जत र सम्मान, उनका लागि यो पेसामा सक्रिय भइरहने यो महत्वपूर्ण विषय भयो । उनको धेरै समकक्षीहरु समाजका माथिल्लो ओदाहामा पुगेका छन् ।

कोही कर्नेल छन्, कोही साँसद छन् । तर, उनलाई कहिल्यै हिनतावोध भएन ।

उनले थपे – ‘साइकल पसले पनि मेरो साथी छ र अहिले पनि उसले साइकलको पसल चलाइरहेको छ ।’

हण्डर ठक्कर

यो सङ्घर्षमय जीवनको दौरान उनले धेरै हण्डर ठक्कर खाए । समाजमा केही असाध्यै गलत प्रवित्ति छ, उनले सम्झिए – ‘तपाई दौडिन थाल्नु भो भने समाजका ती खराव पात्रले ऊ हेर त्यो त्यो दौडियो अब लड्छ भन्छन्, ठेस लागेर लडिहाल्नु भो भने मैले भनेको थिएँ नि त्यो लड्यो कि लडेन भन्छन् !’

‘हो त्यसरी लड्दा उठाइदिने मानिस भयो भने यो समाजमा धेरै गर्न सकिन्छ,’  उनले थपे ।

समाजका यही खराव मानिसहरुका कारण सङ्घर्ष गर्नेहरु निरास बन्न सक्छन् त्यसैले सङ्घर्षशील मानिसलाई सधैं प्रेरित गर्नुपर्ने उनको धारणा छ ।

कोरोना पछि व्यवसायमा  धक्का

समय सधैं एकनासको हुँदैन भनेझै कोरोना संक्रमण भित्रिएपछि उनको व्यवसायमा पनि धक्का लाग्यो ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले सबैभन्दा पहिले स्कूल, स्पा, सैलुन र पार्टी प्यालेसहरु बन्द गराउन थाल्यो । त्यसपछि उनले पनि लगभग ८ महिना सैलुन बन्द गरे ।

‘कोरोनाको डरले मानिसहरु पनि आउन चाहेनन्, आएका भएपनि खोलेर सेवा दिन नपाइने भयो, जसले गर्दा मलाई ठूलो क्षति भयो,’  उनले आफ्नो अवस्था बताए ।

तर, अव विस्तारै कोरोना संक्रमण हटेर सरकारले सबै कुरालाई नियमित गराउँदैछ । अब फेरी पुराना अवस्था फर्किनेमा उनी विस्वस्त छन् ।

भन्छन् – ‘अब सबै कुरा पहिलेको जस्तै हुनेछ ।’

प्रस्तुती : गिरिजा अधिकारी 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com