सन्दर्भ ८६ औं जन्मजयन्ती: ‘व्यङ्ग्य शिल्पी भैरव अर्यालको योगदानको राज्यले कदर गरेन’


प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार

आज भैरव अर्यालको ८६ औं जन्मजयन्ती । उनको साहित्यिक योगदान बारे विशेष चर्चा गरिएको छ । जयभुँडी, काउकुती, इतिश्री, दश अवतार, गलबन्दी, उपवन लगायतका लोकप्रिय कृतिका रचनाकार नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा अर्यालको ८६ औं जन्मजयन्तीको अवसरमा मंगलवार काठमाडौंको जोरपाटीमा आयोजित एक कार्यक्रममा उनको साहित्यिक योगदानबारे चर्चा गरियो ।

भैरव पुरस्कार गुठीले आयोजना गरेकोे कार्यक्रममा वक्ताहरूले हास्यव्यङ्ग्य साहित्यको श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदानको स्मरण गर्दै उनका रचनाहरू कालजयी भएको बताए । नेपाली साहित्य बाहेक पत्रकारिकताको क्षेत्रमा पनि उनको देन अमूल्य रहेको वक्ताहरूको भनाइ थियो ।

अर्यालको प्रेरणाबाट धेरै साहित्यकार तथा पत्रकारहरू जन्मिएको भन्दै उनीहरूले ‘राज्यबाट अर्यालको योगदानको कदर हुन नसकेको’ गुनासो गरे ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकारहरू बद्री अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदी लगायतले अर्यालको जीवनका विविध पाटोबारे प्रकाश पारे ।

सोही अवसरमा भैरव स्मृति भवनमा निर्मित सभाकक्ष (हास्यव्यङ्ग्यकार वासुदेव लुइँटेल, आख्यानकार रमेश विकलमा सर्मिपत) तथा अत्याधुनिक पुस्तकालयको वागमती प्रदेशका सभासद् छिरिङ दोर्जे लामाले उद्घाटन गरे ।

बागमतीको खोंचमा हामफालेर प्राण त्याग

१९९३ साल असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले केवल ४० वर्षको उमेरमा २०३३ साल असोज १९ गते देहत्याग गरेका थिए ।

रोग तथा भोकले आक्रान्त अर्यालले निरश जीवनलाई पूर्णविराम दिनेक्रममा ४० वर्षको अल्पायुमा गोकर्णस्थित पुलबाट बागमती नदीको खोँचमा हामफालेर प्राण त्यागेका थिए ।

जीवन त्याग्नुभन्दा ११ दिनअघि आफ्ना छजना सन्तानको नाममा मार्मिक पत्र लेख्दै अर्यालले आफूले जानी–जानी कुनै पनि अपराध नगरे पनि बेहोश–बेहोशमा दुनिँयाभरिका पाप आफ्नो थाप्लामा थाप्नुपरेको उल्लेख गरेका थिए । ‘कुनै अपराध गरिनँ तर धेरै अपराध लाग्यो’ भनेर उनले चिट्ठीमा उल्लेख गरेका थिए ।

कवितामार्फत साहित्यिक यात्रा

अर्याल मोतीराम भट्टपछि सम्भवतः सबैभन्दा कम उमेरमा निधन भएका स्थापित नेपाली साहित्यकार हुन् । उनले सर्वप्रथम वि. सं. २००९ सालमा ‘नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन्। उनको पहिलो रचनाका रूपमा वि. सं. २०१३ मा ‘नव निर्माण’ शीर्षकको कविता प्रकाशित भएको थियो।

केशवराज पिँडाली, वासुदेव लुइँटेल, दाताराम शर्माजस्ता मूर्धन्य हास्यव्यङ्ग्यकारकै युगमा जन्मिएर व्यङ्ग्य साहित्यको कुरुक्षेत्रमा अर्यालले आफ्नो उच्च श्रेष्ठता प्रमाणित गरेका थिए । समग्र जीवन ४० वर्षसम्म बिताए पनि अर्यालकै शब्दमा ‘बेला–बेलाको मरणासन्न अस्वस्थता र घनघोर गरिबीसँगको निरन्तर युद्धले उनको जीवन २० वर्षपछि नै थिलथिलो हुन पुगेको’ थियो ।

अन्य शारीरिक कमजोरीसँगै असाध्यै पीडा दिएको घाँटीको समस्याले उनलाई पटक–पटक गाँजेको थियो । आफूबाट सम्भव नभएपछि विभिन्न स्रोत–साधन जुटाउँदै उपचारका लागि भारत र जर्मनीसम्म पुगे पनि उनको शारीरिक अवस्था सुध्रिएन, झन् कमजोर हुँदै गयो, मानसिक स्वास्थ्यसमेत अझ जटिल हुन पुगेको थियो ।

चित्रण: गोरखापत्र

विद्यालयमा शिक्षक समेत

२०११ सालदेखि २०१३ सम्म पोखरा कन्धनीडाँडास्थित भवानी प्राथमिक विद्यालयमा उनी शिक्षक थिए । तर, त्यहाँ आफ्ना एक प्रिय विद्यार्थीको पौडी खेल्नेक्रममा निधन भएपछि अत्यन्त संवेदशनील व्यक्तित्वका अर्याल मानसिक रूपमा विक्षिप्त हुँदै पोखरा छाडेर राजधानी प्रवेश गरेको बताइन्छ ।

२०१३ देखि २०१५ सम्म उनी राजधानीको पासिखेलस्थि इन्द्रायणी विद्यालयमा आबद्ध थिए ।

भैरव अर्यालबाट लिखित पुस्तक जय भुँडी

पत्रकारितामा योगदान

नेपालीमा एम्. ए., साहित्यरत्न र संस्कृतमा मध्यमा सम्म को अध्ययन गरेका अर्यालले पत्रकारिता पनि गरे ।

अर्याल २०१५ सालपछि ‘हालखबर’ दैनिकमा आबद्ध भएर पत्रकारितातर्फ आकर्षित भएका थिए । हालखबरमा अर्यालका चोटिला व्यङ्ग्यहरू छापिन थालेपछि पत्रिकाको बिक्री पनि ह्वात्तै बढेको थियो ।

समाजका बेथिति र काला कामविरुद्ध हास्यव्यङ्ग्यमार्फत अर्याल बेजोड वाण चलाउँथे । हालखबर दैनिक, सगरमाथा संवाद समिति हुँदै गोरखापत्र संस्थान पुगेका अर्याल उपसम्पादकबाट सहायक सम्पादकसम्म बने । ‘मधुपर्क’ लाई स्तरीय बनाउन निकै खटे। ‘रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com