विदेशबाट साढे चार अर्बको स्याउ आयात तर नेपाली स्याउ शीतभण्डारको अभावमा खेर जाँदै


प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार

नेपालमा स्याउ टिप्ने सिजन सुरु भएसँगै किसानहरु चिन्तित हुने गरेका समाचार आइरहन्छन् । न्यून मूल्यमा बिक्री, ढुवानीमा कठिनाइ र शीतभण्डार तथा बजारीकरणको अभावमाका कारण उनीहरु हैरान भएका छन् । तर नेपाली बजारमा अमेरिका, चीन, भारत, इन्डोनेसियामा फलेका स्याउ आइरहेका छन् । फितलो सरकारी तयारीले नेपाली स्याउको ढुवानी र बजार सुनिश्चित नहुँदा उपभोक्ता विदेशी स्याउ खान बाध्य छन्।

भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ मा चार अर्ब ६० करोड ८४ लाख २९ हजार रुपैयाँको ६ करोड ५२ लाख ५० हजार किलो स्याउ आयात भएको छ ।  मुलुकमा वार्षिक करिब ८४ हजार मेट्रिक टन स्याउ खपत हुन्छ। गत वर्ष छिमेकी मुलुक चीन र भारतबाट मात्र नभएर अमेरिकाबाट एक करोड १७ लाख ३५ हजार रुपैयाँको ६० हजार ६० किलो स्याउ आयात गरिएको थियो।

यता डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । डोल्पाको स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् ।

उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने गर्दछ । यी स्थानमा ठूलो मात्रामा स्याउ उत्पादन भए पनि बजारीकरणका लागि ढुवानीको समस्याले गर्दा स्याउ खेर गएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताउनुभयो । स्याउ सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका–३ र ४ मा पाइने प्रमुख लामाले जानकारी दिनुभयो ।

यहाँको जुफाल विमानस्थलबाट ढुवानी गर्न मुस्किल हुने र सडकमार्गबाट बजारसम्म लैजान भेरी नदीमा पुल नहुँदा समस्या पर्दै आएको किसानको गुनासो छ । जिल्लाको मुख्य ठाउँमा शीतभण्डार भएमा स्याउको सही व्यवस्थापन गरी बजारसम्म लैजान सहज हुने उहाँको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा छवटा ‘कोल्डस्टोर’ दिइएको भए पनि चारवटा मात्र मुस्किलले प्रयोगमा आएका थिए । अन्य दुईवटा प्रयोगमै ल्याउन नसकिएको उहाँले बताउनुभयो ।

स्याउलाई भण्डारण गर्न सजिलो होस् भनेर कार्टुन (बाकस)समेत अनुदानमा दिए पनि त्यो प्रभावकारी नभएको पाइएको छ । अहिले कृषि विकास कार्यालयमा एकमात्र शीतभण्डारका लागि बजेट आएको तर माग भने धेरै आएको उहाँले बताउनुभयो । एउटा शीतभण्डारमा १० टन स्याउ राख्न सकिन्छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै स्याउ फलेको कृषक द्वारिका शाही बताउनुहुन्छ ।

त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा ठूलो मात्रामा स्याउ उत्पादन हुने गर्दछ । यस वर्षदेखि अङ्गुरसमेत उत्पादन भए पनि बजार नहुँदा कुहिएर खेर गएको कृषक कृष्ण श्रेष्ठको भनाइ छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद ज्ञावलीलगायतको समूहले स्याउलगायत अन्य नगदे बालीको अनुगमन गरी यहाँको विकास र समृद्धिमा हातेमालो गर्न चाहेको बताउनुभएको थियो । उहाँहरुले चिना, फापर र कागुनोलगायतका बालीको समेत अनुगमन गर्नुभएको थियो ।

सडकको पहुँचसँगै भारतीय र चिनियाँ स्याउ बजारमा सहजै पाइने अवस्थामा आफ्नै स्थानीय उत्पादनले भने बजार नपाउनु दुःखद् भएको कृषकले बताएका छन् । स्याउ उत्पादन हुने ठाउँमा सडक र अन्य पूर्वाधार निर्माण गर्न माग गरिएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डसँग सहायक सडक जोडेर स्याउ उत्पादन हुने गाउँसम्म सडक लान सके सजिलै स्थानीय स्याउ बजारसम्म आउने र बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा कृषकले गरेका छन् । डोल्पामा स्याउ सबैभन्दा बढी र त्यसपछि सिमी उत्पादन हुने गर्दछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com