नेपालमा १२ बर्षमाथिकाले लगाउने फाइजर खोप १ लाख डोज बढी भण्डारण गर्न नसकिने, दशैं लगत्तै आउने अनिश्चित


प्रकाशित मिति : आश्विन २०, २०७८ बुधबार

नेपालले १८ बर्षदेखि कम उमेरकाहरुका लागि खोप ल्याउने तयारी गरिरहेको छ । तर १२ बर्षदेखिमाथिकाहरुले लगाउन मिल्नेगरी स्वीकृत खोप अत्यन्तै चिसो तापक्रममा राख्नुपर्ने भएकाले भण्डारण क्षमताबारे मुख्य प्रश्न खडा भएको छ । किनभने हालसम्म विकास भएका कोरोनाबिरुद्धका खोपमा भण्डारण र वितरणका हिसाबले सबैभन्दा चुनौतीपूर्ण फाइजर खोप रहेको छ ।

अमेरिकामा १२ बर्षमाथिकालाई लगाउन स्वीकृत फाइजर भ्याक्सिनमा उल्लेख गरिएको म्यादसम्म भण्डारण गर्नका लागि यो भ्याक्सिनलाई माइनस ६० डिग्रीदेखि माइनस ८० डिग्री सेल्सियस तापक्रमभित्रको अत्यन्तै चिसो फ्रिजरमा राख्नुपर्छ । यो भ्याक्सिन माइनस ७० डिग्री सेल्सियसमा राख्न सिफारिस गरिएको छ ।

विगतमा नेपालमा माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्न सकिने कुनै व्यवस्था नहुँदा नेपालले अमेरिकी सहयोगमा मोडेर्ना वा फाइजर भ्याक्सिन प्राप्त गर्न सकेको थिएन । त्यसैले अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन भ्याक्सिन सहायतामा उपलब्ध गराएको थियो ।

फाइजर भ्याक्सिन दुइसातासम्मका लागि माइनस १५ डिग्रीदेखि माइनस २५ डिग्री सेल्सियससम्म भण्डारण गर्न सकिन्छ । तर सीडीसीको पछिल्लो गाइडलाइन अनुशार त्योभन्दा लामो समय उक्त तापक्रममा फाइजर भ्याक्सिन भण्डारण गर्न मिल्दैन ।

फाइजरको भ्याक्सिन दुईडोज २१ दिनको अन्तरमा दिनुपर्ने भएकाले यसअगाडि २१ दिनसम्म यो भ्याक्सिन नेपालमा भण्डारण गर्न मिल्ने कुनै व्यवस्था थिएन । काठमाडौंमा दुईसातासम्म भण्डारण गर्न मिलेपनि भ्याक्सिन परिचालन गर्दा यो सुविधा पनि उपलब्ध थिएन ।

तर अब नेपालसँग माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने फाइजर खोप राख्न सकिने चारवटा फ्रिज उपलब्ध रहेका छन् । एक एकसय लिटरका यी फ्रिजहरुमा फाइजर भ्याक्सिन म्याद उल्लेख भएको मितिसम्म भण्डारण गर्न त सकिन्छ । तर वितरणमा समस्या रहेको छ । किनभने यी फ्रिजरबाट बाहिर निकालेपछि फाइजर भ्याक्सिन नेपालमा दुईसातासम्ममात्र भण्डारण गर्न मिल्ने व्यवस्था छ । उक्त अवधिभित्र भ्याक्सिनको डोज दिइसक्नुपर्छ । ग्रामिण क्षेत्रमा यो वितरण चुनौतिपूर्ण छ ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

अर्कोतर्फ अहिलेको क्षमता अनुशार नेपालले एकलाख डोजमात्र फाइजर भ्याक्सिन भण्डारण गर्नसक्छ । त्यसैले अहिलेको क्षमता बृद्धि नहुँदासम्म नेपालले यो भ्याक्सिन प्राप्त गर्दा नै एकएक लाख डोजको दरले प्राप्त गर्नुपर्छ । एक एकलाख डोजका दरले भ्याक्सिन प्राप्त गर्न डेलिभरीको दृष्टिकोणले समस्यापूर्ण रहेको छ ।

मोडेर्नाको खोपको लागि सरकारले शुल्क तिरिसकेपनि फाइजरसँग भने छलफलमात्र चलिरहेको छ । अगस्ट महिनाको दोस्रो साता नेपालले कोभिड विरुद्धको मोडेर्ना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि सम्झौता गरेको थियो भने फाइजर खोपको ६० लाख मात्रा लिने तयारी अघि बढाएको छ।

केही दिन अगाडि सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले १८ बर्षभन्दा कम उमेरकाहरुका लागि खोप दशैं अगाडि नै आउने र लगाउन सुरु गरिने बताएका थिए । लगत्तै उनले बोली फेरे । उनले अब १८ बर्षभन्दा कम उमेरकालाई दसैंपछि खोप आउने र लगाउन सुरु गरिने बताउन थालेका छन् । तर स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालले भने दशैँ लगत्तै खोप आउछ भनेर भन्न सकिने स्थिति नभएको र २०२१ भित्रै खोप ल्याउने आफूहरुले प्रयास गरिरहेको बताएका छन् । डिसेम्बर महिनाअघि नै उक्त खोप उपलब्ध हुने अपेक्षा गरिएको छ ।

कतिपय देशहरुले मोडेर्ना भ्याक्सिन पनि १२ बर्षभन्दा माथिकाहरुले लगाउन मिल्नेगरी स्वीकृत गरेका छन् । मोडेर्ना भ्याक्सिन नेपालमा धेरैडोज लामोसमय भण्डारणका लागि उचित व्यवस्था छैन । यो भ्याक्सिन माइनस १५ देखि माइनस ५० डिग्री सेल्सियसभित्र भण्डारण गर्नुपर्छ ।

मोडर्ना भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा ३० दिनसम्म राख्न सकिन्छ । यो तापक्रममा भ्याक्सिन राख्नसक्ने व्यवस्था नेपालले गर्नसक्छ । तर यो भ्याक्सिन दुईडोज २८ दिनको अन्तरमा दिनुपर्ने भएकाले काठमाडौंबाहिर वा दुर्गम स्थानमा भ्याक्सिन परिचालनमा भने समस्या हुनसक्छ । प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी २ डिग्रीदेखि २५ डिग्री सेल्सियसको तापक्रममा १२ घण्टासम्म राख्न सकिन्छ । फाइजरको तुलनामा मोडर्ना भ्याक्सिन वितरणमा केही सहज छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com