नियुक्त भएको ४८ घण्टा नबित्दै उद्योगमन्त्री हमालको राजिनामा स्वीकृत, देउवाले नै मागेका थिए राजिनामा


प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका मन्त्री हमालले आज बिहान पदबाट राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा दिन भनेका थिए । त्यसपछि हमालले पदबाट राजीनामा दिएको प्रधानमन्त्रीको संसदीय दलका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए ।

विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्ले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा दिएको स्वकीय सचिव जोशीले बताए । आफू लामो समयदेखि नेपाली कांग्रेसका विभिन्न पदमा सक्रिय रही बाँकेको पार्टी सभापतिसमेत भएर काम गरेकाले सोहीअनुसार मूल्याङ्कन गरी प्रधानमन्त्रीले आफूलाई मन्त्री पदमा नियुक्ति गरेको हमालले राजीनामा पत्रमा उल्लेख गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ । तस्बिर : प्रदिपराज वन्त, रासस

विभिन्न सञ्चारमाध्यममा सम्प्रेषित समाचार तथा कानुनविद्ले आफ्नो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौँसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायबीच शक्ति पृथकीकरणको सिद्धान्तका लागि लडेको लडाइँको समेत अवमूल्यन भएको वोध भएको पत्रमा उल्लेख छ ।

आफ्नो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेपछि पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशङ्काकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेको भन्दै मन्त्री हमालले पदबाट राजीनामा दिएका थिए । हमाल लामो समयदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनले विसं २०२७ देखि कांग्रेसका विभिन्न पदमा बसेर काम गरिसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com