विश्व स्वास्थ्य संगठन :’कोरोनाबाट एक लाख असी हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुन सक्छ’
प्रकाशित मिति : कार्तिक ४, २०७८ बिहीबार
कोरोना महामारीबाट स्वास्थ्यकर्मीहरू नराम्ररी प्रभावित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट ८० हजारदेखि १ लाख ८० हजारको बीचमा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको हुन सक्छ।
सन् २०२० को ज्यानुअरीदेखि सन् २०२१ को मे महिनाको बीचमा यतिधेरै सङ्ख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताउँदै खोपको अन्यायपूर्ण वितरणलाई लिएर आलोचना गरेका छन्।
विश्वभरि अनुमानित १३ करोड ५० लाख स्वास्थ्यकर्मी छन्। ‘विश्वका ११९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुई जनाले कोभिड खोप लगाउन पाएका छन्, महानिर्देशक टेड्रोसले भने।’ तर निश्चित रूपमा त्यो औसतले क्षेत्रहरू र आर्थिक समूहहरूबीच विद्यमान व्यापक भिन्नतालाई ढाकछोप गर्छ।’
उनका अनुसार अफ्रिकामा दशजना स्वास्थ्यकर्मीमध्ये एक जनाभन्दा कमले पूर्ण मात्रा खोप लगाउन पाएका छन् जबकि उच्च आय भएका देशमा दशमध्ये आठ जानले खोप लगाइसकेका छन्।यसअघि डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा। ब्रुस एल्वर्डले खोपको असमान वितरणले गर्दा कोभिड सङ्कट सन् २०२२ को अन्त्यसम्म सजिलैसँग धकेलिने बताएका थिए।
अधिकांश कोभिड खोप उच्च अथवा मध्यम आय भएका देशले पाएका छन्। विश्वभरि वितरित खोपमध्ये अफ्रिकाले २.६ प्रतिशत मात्रै पाएको छ। अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोभिड खोप पाएको छ जबकि अरू अधिकांश देशमा ४० प्रतिशतले खोप पाइसकेका छन्। बिबिसिबाट