चीनबाट १० लाख मात्रा खोप आइपुग्यो, नेपालमा ८६ लाख जनाले पहिलो मात्रा लगाइसके
प्रकाशित मिति : कार्तिक १०, २०७८ बुधबार
कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो ।
नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म डेढ करोड मात्राभन्दा बढी प्रयोग भइसकेको छ। मन्त्रालयको तथ्याङ्कअनुसार ८६ लाख जनाले पहिलो मात्रा र ६७ लाख जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्।