मंसिरदेखि ई-पासपोर्ट जारी गर्ने तयारीमा सरकार, यस्ता हुनेछन् विशेषता


प्रकाशित मिति : कार्तिक १८, २०७८ बिहीबार

सरकारले मंसिरदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्ने तयारी गरेको छ । राहदानी विभागले आगामी माघ महिनादेखि पूर्णरूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम तय गरेपनि सबै तयारी पूरा भएकाले तोकिएको समयभन्दा अगाडि नै जारी गर्न सकिने जनाइएको छ ।

मंसिरदेखि विद्युतीय राहदानी जारी हुने भएकाले अत्यावश्यक नभइ बनाएर घरमा राख्नको लागि मात्र हालको मेशिन रिडेबल राहदानी नबनाउन राहदानी विभागले अनुरोध गरेको छ । तर हालको मेसिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउन भने नपर्ने जनाइएको छ ।

यस्ता हुनेछन् विशेषता

बायोमेट्रिक पासपोर्ट समेत भनिने यस्तो राहदानीमा सबै बायोमेट्रिक विवरणहरु चिपमा राखिएका हुन्छन् । अगाडि वा पछाडिको कभरमा वा मध्यपृष्ठमा चिप र एन्टेना इम्बेड गरेर राखिएको हुन्छ ।

अहिलेको एमआरएपीको तस्वीर भएको डाटा पेजमा अप्टिकल क्यारेक्टर रिकगनाइजेसन फरम्याटमा मेसिन रिडेबल जोन हुने भएकाले राहदानी रिडर मेसिनले रिड गर्दा राहदानीमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिने व्यवस्था रहेको छ भने विद्युतीय राहदानीमा यसको अलावा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनेछ ।

विद्युतीय राहदानीहरुमा यस्तो संकेत राखिएको हुन्छ ।

 

चिपमा औंठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरू हने र यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने जनाइएको छ ।

अर्यालका अनुशार नेपालले जारी गर्न लागेको पोलिकार्बोनेट सहितको विद्युतीय राहदानी हो। पोलिकार्बोनेट सहितको डाटा पेजमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ जुन आँखाले सहजै देख्न सकिँदैन। अब जारी हुने साधारण राहदानीको रंग चकलेटी खैरो हुनेछ ।

त्यस्तै साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी हुनेछ। अब जारी हुने राहदानीहरू कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुने जनाइएको छ ।

यात्रा सहज हुने अपेक्षा

एमआरपी राहदानी विस्थापित गर्ने विद्युतीय राहदानीले आम नेपाली नागरिकलाई विश्व यात्रामा सहज बनाउनेछ । जसअनुसार विद्युतीय राहदानी वितरण भएपछि नेपालको यात्रीले अन्तर्राष्ट्रिय स्तरको आवागमनको सुविधा प्राप्त गर्ने विभागले जनाएको छ । अरुबेला जस्तो घण्टौँ लाइनमा बस्नुपर्ने झन्झटबाटसमेत नेपाली नागरिकले छुटकारा पाउने छन् ।

विद्युतीय राहदानी मेसिनमा छुवाएपछि बारम्बार परीक्षणको झन्झट पनि हट्नेछ । त्यस्तै विद्युतीय ढोका रहेका कतिपय अन्तर्राष्ट्रिय विमानस्थलमा वाहकको अनुहार सेन्सरले हेरेकै भरमा आवागमनका लागि ढोका खुल्दा नेपाली नागरिकले त्यो ढोकाबाट सहजै आवागमन गर्न पाउने छन् ।

एमआरपी राहदानी बोक्ने नेपाली नागरिकले लाममा बसेर विभिन्न मेसिनमा परीक्षण गराउँदै घण्टौँको व्यवस्थापकीय कारबाही झेल्दै अघि बढ्नुपर्ने अवस्थाको अन्त्य विद्युतीय राहदानीले गर्नेछ ।

विश्वका १ सय ५० बढी देशमा विद्युतीय राहदानी

अहिले विश्वका १ सय ५० भन्दा बढी देशले विद्युतीय राहदानी जारी गरिरहेका छन् ।  विश्वमा सबैभन्दा पहिले विद्युतीय राहदानी मलेसियाले सन् १९९८ बाट जारी गर्न थालेको हो । सन् २००८ सम्म ६० भन्दा बढीदेशले जारी गरेकोमा अहिले १५० भन्दा बढी पुगिसकेको छ ।

अमेरिकी पासपोर्ट

भारतले कूटनीतिक राहदानीहरुमात्र विद्युतीय राहदानीका रुपमा जारी गर्दै आएको छ । सर्वसाधारणका लागि विद्युतीय पासपोर्ट निकट भविश्यमा नै जारी गर्ने योजनामा भारत रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com