आजदेखि नेपालमा जारी विद्युतीय राहदानीका विशेषता यस्ता: सात प्रकारका राहदानी, रंगपनि फरक
प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार
सरकारले आजदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) जारी जारी गर्न सुरु गरेको छ । राहदानी विभागले आगामी माघ महिनादेखि पूर्णरूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम तय गरेपनि सबै तयारी पूरा भएकाले आजदेखि नै जारी गर्न सुरु गरिएको हो ।
यस्ता छन् विशेषता
बायोमेट्रिक पासपोर्ट समेत भनिने यस्तो राहदानीमा सबै बायोमेट्रिक विवरणहरु चिपमा राखिएका हुन्छन् । अगाडि वा पछाडिको कभरमा वा मध्यपृष्ठमा चिप र एन्टेना इम्बेड गरेर राखिएको हुन्छ ।
एमआरएपीको तस्वीर भएको डाटा पेजमा अप्टिकल क्यारेक्टर रिकगनाइजेसन फरम्याटमा मेसिन रिडेबल जोन हुन्छ । राहदानी रिडर मेसिनले रिड गर्दा राहदानीमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिने व्यवस्था रहेको छ भने विद्युतीय राहदानीमा यसको अलावा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको छ ।
चिपमा औंठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरू छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने जनाइएको छ । साधारण राहदानीको रंगपनि चकलेटी खैरो रहेको छ ।
नेपालले जारी गर्न सुरु गरेको पोलिकार्बोनेट सहितको विद्युतीय राहदानी हो। पोलिकार्बोनेट सहितको डाटा पेजमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ जुन आँखाले सहजै देख्न सकिँदैन।
त्यस्तै साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी हुनेछ। विद्युतीय राहदानीहरु कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका रहेका छन् ।
यात्रा सहज हुने अपेक्षा
एमआरपी राहदानी विस्थापित गर्ने विद्युतीय राहदानीले आम नेपाली नागरिकलाई विश्व यात्रामा सहज बनाउनेछ । जसअनुसार विद्युतीय राहदानी वितरण भएपछि नेपालको यात्रीले अन्तर्राष्ट्रिय स्तरको आवागमनको सुविधा प्राप्त गर्ने छ । अरुबेला जस्तो घण्टौँ लाइनमा बस्नुपर्ने झन्झटबाटसमेत नेपाली नागरिकले छुटकारा पाउने छन् ।
विद्युतीय राहदानी मेसिनमा छुवाएपछि बारम्बार परीक्षणको झन्झट पनि हट्नेछ । त्यस्तै विद्युतीय ढोका रहेका कतिपय अन्तर्राष्ट्रिय विमानस्थलमा वाहकको अनुहार सेन्सरले हेरेकै भरमा आवागमनका लागि ढोका खुल्दा नेपाली नागरिकले त्यो ढोकाबाट सहजै आवागमन गर्न पाउने छन् ।
एमआरपी राहदानी बोक्ने नेपाली नागरिकले लाममा बसेर विभिन्न मेसिनमा परीक्षण गराउँदै घण्टौँको व्यवस्थापकीय कारबाही झेल्दै अघि बढ्नुपर्ने अवस्थाको अन्त्य विद्युतीय राहदानीले गर्नेछ ।
विश्वका १ सय ५० बढी देशमा विद्युतीय राहदानी
अहिले विश्वका १ सय ५० भन्दा बढी देशले विद्युतीय राहदानी जारी गरिरहेका छन् । विश्वमा सबैभन्दा पहिले विद्युतीय राहदानी मलेसियाले सन् १९९८ बाट जारी गर्न थालेको हो । सन् २००८ सम्म ६० भन्दा बढीदेशले जारी गरेकोमा अहिले १५० भन्दा बढी पुगिसकेको छ ।
भारतले कूटनीतिक राहदानीहरुमात्र विद्युतीय राहदानीका रुपमा जारी गर्दै आएको छ । सर्वसाधारणका लागि विद्युतीय पासपोर्ट निकट भविश्यमा नै जारी गर्ने योजनामा भारत रहेको छ ।