बाबा रामदेवको प्रशंसा गरेर थाकेनन् नेपाली नेता ,प्रचण्डले भने ‘उहाँ ठूलो क्रान्तिकारी’
प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताउँदै आज विश्वले नै योगलाई आत्मसात् गरेको बताउनुभएको छ । पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको आज उद्घाटन गर्दै उहाँले आयुर्वेद औषधि विश्वले नै मानिसकेको र यसको कुनै असरसमेत नभएकाले यो जीवनोपयोगी भएको धारणा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले योग र ध्यान तथा आयुर्वेद औषधि निर्माण र प्रयोगमा योगऋषि स्वामी रामदेव बाबा र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले गर्नुभएको अनुसन्धान, प्रचार र योगदानको सराहना गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा आयुर्वेद औषधि प्रशोधन तथा उत्पादनका लागि गैरनाफामूलक उद्योग स्थापना र सञ्चालन गर्न उहाँहरुलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले बाबा रामदेव र आचार्य बालकृष्ण नेपाललाई माया गर्ने व्यक्ति भएको बताउँदै उहाँहरुले नेपाललाई गरेको विभिन्न सहयोगका लागि धन्यवाद दिनुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबा रामदेव र आचार्य बालकृष्णले योगबाट नयाँ क्रान्ति, साधना योगबाट समाजलाई निरोगिता र आरोग्यबाट उद्योगतिर रुपान्तरण गरेकाले उहाँहरु ठूलो क्रान्तिकारी भएको बताउनुभयो ।
अध्यक्ष दाहालले नेपाल जडीबुटीको भण्डार भएको र उहाँहरुले नेपालमा त्यसको प्रशोधन र उत्पादनका लागि उद्योग खोल्ने योजना महत्वपूर्ण भएको बताउँदै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा गर्नुभएको योगदानका लागि धन्यवाद दिनुभयो । विद्यार्थीको पठनपाठन लागि स्थापना गरिएको रत्न सर्राफ भवन, पतञ्जली नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको उद्घाटनले नेपाली समाजमा नयाँ प्रेरणा प्रदान गर्ने र यस कार्यले सबैमा नयाँ ऊर्जा प्राप्त भएको उहाँका भनाइ थियो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले आयुर्वेद औषधि र प्राकृतिक चिकित्साको बेग्लै महत्व रहेको उल्लेख गर्दै यो र आधुनिक विज्ञानको संयोजन गरी अघि बढे मानव स्वास्थ्यका क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने बताउनुभयो । उहाँले योग गर्न सुरु गरेपछि आफ्नो स्वास्थ्यमा भएको सुधारको स्मरण गर्दै सबैको जीवनमा योग र साधनाको ठूलो महत्व रहेको बताउनुभयो ।
कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिनुभएका भारत सरकारका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले कोभिड–१९ बाट विश्व नै आक्रान्त भएका बेला पतञ्जलीजस्ता संस्थाले योगविज्ञान र आयुर्वेदका माध्यमबाट समाजमा गरेको सहयोग र मानिसमा सकारात्मक भावना उत्पन्न गर्नेलगायत काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँले बाबा रामदेव र आचार्य बालकृष्णले नेपाल र भारतका जडीबुटीमा अनुसन्धान, प्रशोसन, उत्पादन, औषधि निर्माण गरी मानव जीवनमा राहतको महत्वपूर्ण काम गरेको बताउनुभयो ।
नेपाल र भारतबीचको सम्बन्ध निकै पुरानो रहेको बताउँदै उहाँले दुई देशबीचको संस्कृति इतिहास र विरासत नै शक्ति भएको र यसलाई बढाउन दुवै देशबाट विभिन्न प्रयास हुँदै आएको उल्लेख गर्नुभयो ।
सो अवसरमा उहाँले अयोध्या–जनकपुर जोड्ने ४३६ किमी रामजानकी सडक र बुद्ध सर्किटमा पर्ने विभिन्न सडकको निर्माण भारत सरकारले तीव्र गतिमा गरिरहेको अवगत गराउँदै यसले दुई देशका संस्कृति सम्बन्ध निर्माण तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुने धारणा व्यक्त गर्नुभयो ।
बाबा रामदेवले योग, आरोग्य, प्रणायाम र आयुर्वेद औषधिका लागि नेपाल राजधानीका रुपमा दुनियाँको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सबै मानिस एक ईश्वरका सन्तान भएको उल्लेख गर्दै सबै प्रकारका भेदभाव हटाएर सबै समान भन्ने भावनाका साथ अघि बढ्न आग्रहसमेत गर्नुभयो । आचार्य बालकृष्णले पतञ्जलिका माध्यमबाट नेपालमा गर्न लागेको योजनाबारेमा जानकारी गराउनुभएको थियो ।रासस