रुसी राष्ट्रपति पुटिनद्वारा अफगानिस्तानलाई सहयोग गर्न अमेरिका र उसका सहयोगीलाई आह्वान


प्रकाशित मिति : पुस १०, २०७८ शनिबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्रलाई “नष्ट” गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन आग्रह गर्नुभएको छ । उहाँले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका र सहयोगीले अफगानलाई सहायता उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनुभएकोटोलो न्यूजले जनाएको छ ।

” जो-२० वर्षदेखि त्यहाँ छन्, अर्थतन्त्रलाई ध्वस्त पारेका छन्, उनीहरूलाई पहिले सहयोग उपलब्ध गराउनु आवश्यक छ,” पुटिनले टास समाचार एजेन्सीलाई बताउँनुभयो । राष्ट्रपति पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा स्पुतनिक समाचार एजेन्सीले सोधेको प्रश्नको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो। उहाँले अफगानिस्तानको रोक्का गरिएको सम्पत्तिको बारेमा पनि कुरा उठाउँनुभएको छ ।

उहाँले भन्नुभयो, “सबैभन्दा पहिले, अफगानिस्तानका जनतालाई पूर्णहदसम्म मानवीय सहायता प्रदान गर्नका लागि विदेशी बैंक, मुख्यतया अमेरिकीद्वारा अफगानिस्तानको कोषलाई खुला गर्न आवश्यक छ, अन्यथा [देश] भोकमरी र अन्य गम्भीर समस्याको सामना गर्न सक्ने सम्भावना छ। जसको असर छिमेकी राष्ट्रसमेतमा पर्नेछ,’ उहाँले भन्नुभयो ।

तालिबानलाई आह्वान गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै जातीय समूहको प्रतिनिधित्वबाट समावेशी सरकार गठन गर्नुपर्ने बताउँनुभएको छ । पुटिनले भन्नुभयो, “अहिले अफगानिस्तानको नेतृत्वमा रहेका सेनाले देशको नेतृत्वमा सबै जातीय समूहलाई प्रतिनिधित्व गर्न तयार हुनुपर्छ ।”, टोलो न्यूजले रिपोर्ट गरेको छ।

यसबाहेक, उहाँले काबुल र मस्कोबीचको सम्बन्ध “सम्भव राम्रो तरिकाले”, विकास हुने बताउँनुभएको छ। “यो हाम्रो लागि निष्क्रिय मुद्दा होइन किनभने हामीसँग मध्य एसियाली गणतन्त्र, सोभियत संघका पूर्वगणतन्त्रसँग खुला सीमाना छन्, र निश्चितरूपमा, त्यहाँ केही चरमपन्थी तत्त्वको सम्भावित आक्रमणले हामीलाई सचेत रहन झक्झकाएको छ” पुटिनले थप्नुभयो । एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com