अमेरिकी तथ्यांक ब्यूरो : विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो


प्रकाशित मिति : पुस १८, २०७८ आईतबार

विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक ब्यूरोका अनुसार यो सँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या १ अर्ब ४० करोड पुगेको छ ।
जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ । आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ ।

ब्यूरोका अनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको जनसंख्या ३३ करोड २० लाख पुगेको छ । जनसंख्याका हिसाबले अमेरिकापछि इन्डोनेसिया र पाकिस्तान क्रमशः चौंथो र पाँचौं ठूलो देश बनेका छन् । इन्डोनेसियाको जनसंख्या २७ करोड ५० लाख छ भने पाकिस्तानको २३ करोड ८० लाख नाघेको छ ।

सन् २०२१ मा विश्वको जनसंख्या शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको छ  । समग्रमा विश्वको जनसंख्या बढे पनि बृद्धि दर भने सन् १९६० को मध्यदेखि निरन्तर घटिरहेको छ । सन् २१०० भन्दा अगाडि यो दर फेरि बढ्ने विज्ञहरुले अनुमान गरेका छन् । राष्ट्रसंघले पनि विश्वको जनसंख्या सन् २१०० सम्म निरन्तर बढ्ने र तर, यस्तो वृद्धि केही क्षेत्रमा मात्र केन्द्रित हुने जनाएको छ ।

ब्यूरोका अनुसार आगामी केही दशकमा केवल आठ देशहरुमा मात्र जनसंख्या बढ्नेछ । ती देशहरुमा कंगो, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, तान्जेनिया र अमेरिका रहेका छन् । यो शताब्दीको अन्त्यमा ५५ देशको जनसंख्या एक प्रतिशतभन्दा बढीले घट्नेछ । राष्ट्रसंघले पनि बुल्गेरिया, लात्भिया, लिथुनिया र युक्रेनको जनसंख्या २० प्रतिशतले घट्ने जनाएको छ । एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com