प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,के भयो कुराकानी


प्रकाशित मिति : पुस २४, २०७८ शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।

एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान करिब १० बजेर ३० मिनेटमा बालकोट पुग्नुभएको थियो ।

संसद्को अवरोध हटाउनेबारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुग्नुभएको हो ।

यसअघि पनि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो ।

अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीमा रहेका सांसदलाई सभामुखले कारबाही नगरेसम्म र एकीकृत समाजवादी पार्टीका सांसद उपस्थित भएको संसद् र बैठकमा अवरोध गर्ने अडान राख्दै आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com