प्राधिकरणको महानिर्देशक बन्न ठूलै रस्साकस्सी
प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार
मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को महानिर्देशक पदका लागि दाबेदार पदाधिकारीले दौडधुप गरिरहेका छन् ।
हालका महानिर्देशक राजकुमार क्षेत्रीको उमेरहदका कारण अनिवार्य अवकाश भएपछि प्राधिकरण नेतृत्वविहीन छ । तीन महिनाअघि प्राधिकरणको महानिर्देशक बनेका उहाँले सेवाबाट अवकाश लिएपनि महानिर्देशक पद लम्याउन लागिपर्नुभएको छ । आफूलाई चार वर्षका लागि सरकारले नियुक्त गरेकाले पूरै कार्यकाल पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।
अदालतले अल्पकालीन आदेश दिएर आगामी पुस ३० गते छलफलका लागि दुबै पक्षलाई बोलाएको छ । क्षेत्रीले रासससँग कुरागर्दै प्राधिकरण ऐन बमोजिम महानिर्देशक पद चार वष हुने प्रावधान रहेकाले पूरा कार्यकालको लागि आफूले दाबी गरेको बताउनुभयो ।
उहाँले प्राधिकरणका ३२ वर्ष सेवा गरेर गत पुस २४ गते शनिबार मात्रै उमेरहदका कारण अवकाश हुनुभएको थियो । सेवाबाट अवकाश लिएपछि पनि महानिर्देशक पद जोगाउन क्षेत्रीले सर्वोच्चदेखि शक्ति केन्द्रसम्म दौडधुप गरेको विभिन्न सञ्चार माध्यममा आइरहेको छ ।
तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले प्राधिकरणकै १२औँ तहका कर्मचारी प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ । प्राधिकरणमा अन्य सिनियर अधिकृत हुँदा जुनियरलाई जिम्मेवारी दिएको पनि बजारमा चर्चा छ ।
महानिर्देशकका अर्का दाबेदार प्राधिकरणकै १२औँ तहका उपमहानिर्देशक प्रतावबाबु तिवारी महानिर्देशक पद प्राप्त गर्न हरसम्भव प्रयास गरिरहनुभएको जनाइएको छ । यसका लागि उहाँले अभियाननै चलाउनुभएको छ । स्वभावलै निवर्तमान महानिर्देशक क्षेत्रीपछि तिवारीको दाबेदारी देखिन्छ । तिवारी महानिर्देशक बनेमा पूरै कार्यकाल नेतृत्वमा रहने जनाइएको छ ।
एयर ट्राफिक अफिसरका रुपमा सेवा प्रवेश गर्नुभएका उहाँले प्राधिकरणमा २५ वर्ष सेवा गरिसक्नुभएको छ । उहाँ यसअधि त्रिअविको महाप्रबन्धक तथा प्राधिकरणको प्रवक्ताको जिम्मेवारीमा रहेर पनि काम गर्नुभएको छ । उहाँले हवाई सुरक्षा सुदृढ गर्ने र प्राधिकरण सुधार्ने योजना पनि अघि सार्नुभएको छ ।
महानिर्देशकका लागि प्राधिकरणकै अर्का प्रत्यासी हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागार्इंको पनि आगामी फागुन १६ गते उमेर हदका कारण अनिवार्य अवकाश हुँदैछ । उहाँले पनि आफू प्राधिकरणको सिनियर कर्मचारी भएकाले स्वभाबैले महानिर्देशक पद दाबी गरिएको बताउनुभयो ।
“प्राधिकरणको १२औँ तहको सिनियर कर्मचारी हुँ अवको डेढमहिनापछि अवकास पाउने भएकाले उक्त अवधिसम्म भए पनि स्वभाविक रुपमा नेतृत्वको पाउनुपर्छ भन्ने हो दाबी हैन” उहाँले भन्नुभयो ।
त्यस्तै महानिर्देशक पदका लागि अघिल्लो पटकदेखि नै लबिङ गरिरहनुभएका प्राधिकरणका आयोजना प्रमुखको जिम्मेवारीमा रहेका प्रदीप अधिकारी पनि पदका लागि आफू उपयुक्त रहेको बताउनुभएको छ । उहाँ पनि ‘लबिङ’ गर्दै शक्ति केन्द्रदेखि विभिन्न तहसम्म माहोल आफ्नो पक्षमा बनाउन लागिरहनुभएको बताइएको छ ।
महानिर्देशक पदमा तपाई किन भनि सोधिएको जिज्ञासामा अधिकारीले भन्नुभयो,“प्राधिकरणमा स्थिर नेतृत्वका लागि मेले नेतृत्व खोजेको हुँ खाली तीन महिना र दुई महिना महानिर्देशक हुने पदाधिकारीले कसरी प्राधिकरणको हितमा काम गर्नसक्छन् ।” सिभिल इञ्जिनीयरको रुपमा सातौँ तहबाट सेवा प्रवेश गर्नुभएका अधिकारीले आठौँ र खुला प्रतिस्पर्धाबाट ११औँ तहमा एकैपटक नाम निकाल्नुभएको थियो । उहाँको पालामा निर्माणाधीन, भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति भएको थियो । दुबै राष्ट्रिय गौरबका आयोजना हुन ।
भैरहवा र पोखरासँगै निजगढ अन्तरराष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर आधार तयार गर्न पनि आफ्नो भूमिका रहेको अधिकारीको दाबी छ । पर्यटन मन्त्रालयले प्राधिकरणको महानिर्देशक कस्लाई बनाउने भन्नेबारे अहिलेसम्म मुख खोलेको छैन । पर्यटन मन्त्रालयका प्रवक्ता टोपराज पाण्डेले प्राधिकरणको महानिर्देशकका विषयमा कुनै टुङ्गो लागिनसकेको प्रतिक्रिया दिनुभयो ।
नेतृत्वलाई चुनौतीको चाङ
प्राधिकरणमा आउने महानिर्देशकलाई चुनौतीको चाङ छ । संसद्मा विचाराधीन रहेको प्राधिकरण विभाजन गर्ने प्रयोजनका निम्ति बनेको दुई विधेयकलाई निष्कर्षमा पु¥याउनु निकै ठूलो चुनौती छ । उक्त विषयमा प्राधिकरणका कर्मचारीले असन्तुष्टि जनाउँदै आन्दोलन समेत पनि गरेका थिए ।
हालै प्राधिकरणको २३औँ वार्षिकोत्सवमा पर्यटनमन्त्री प्रेमबहादुर आले र पर्यटन सचिव महेश्वर न्यौपानेका सामु कर्मचारी टे«ड युनियनका प्रतिनिधिले प्राधिकरण विभाजनसम्बन्धी विधेयक फिर्ता हुनुपर्ने जिकिर गर्नुभएको थियो । त्यस विषयमा छलफल गर्ने मन्त्रालयले बचन दिएको थियो । संसद्को राष्ट्रिय सभाबाट विधेयक पारित भई हाल प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ ।