सोमालियामा कार बम विस्फोट, १० जनाको मृत्यु
प्रकाशित मिति : पुस २८, २०७८ बुधबार
सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भन्नुभयो, “एक आत्मघाती बम आक्रमणकारीले अन्तरराष्ट्रिय विमानस्थल नजिकै सैनिक समूहलाई लक्षित गरी गरेको हुनसक्ने आक्रमणमा पाँच सैनिकसहित १० जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।”
मोगादिशुको ‘२१ अक्टूबर रोड’मा कारलाई सेनाको गाडीसँग ठक्कर दिई विस्फोट गराइएको उहाँले बताउनुभयो । वार्डेयरले घटनास्थलमा सञ्चारकर्मीसँग भन्नुभयो, “हामीलाई घटनाबारे अहिले थप जानकारी भएको छैन ।
आक्रमणको निशाना कसलाई बनाइएको हो भन्नेबारे अनुसन्धान सुरू गरिएकोले यसबारे थप जानकारी छिट्टै सार्वजनिक गरिनेछ ।” घटनास्थलमा खिचिएका दृश्यहरूमा कालो धुवाँ निस्किरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीले केही गाडीहरू आगोले जलेका बताएका छन् । उप गभर्नरले अल–शाबाब आतंकवादीहरू यस आक्रमणको पछाडि रहेको बताउनुभएको छ ।
प्रहरीले उनीहरूलाई पछ्याइरहेको छ र आक्रमणको उद्देश्य स्थापित गर्न पनि जाँच शुरु भएको छ । यसैबीच अल–शाबाबले यस आक्रमणको लागि आफ्नो समूह जिम्मेवार भएको दाबी गरेको छ ।