धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले भन्नुभयो,”धर्मशालालाई त ‘सेभेन स्टार’ होटेल बनाएछन्”


प्रकाशित मिति : माघ २, २०७८ आईतबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिस्थित धर्मशाला अतिक्रमणबारे निरीक्षण गर्नुभएको छ। बतास समूहले होटलका रुपमा सञ्चालन गरिरहेको उक्त धर्मशालाको निरीक्षण गर्दा आफू छक्कै परेको बताउनुभएको छ ।

आइतबार आफ्नो टोलीसहित धर्मशाला निरीक्षणमा पुगेका मन्त्री आलेले भन्नुभयो, ‘धर्मशाला त फाइभ स्टार होइन, सेभेनस्टार होटलकै रुपमा बनाएछन् । छानबिन गरेर दूधको दूध पानीको पानी छुट्याउँछौँ । धर्मशाला बेच्नेलाई कारबाही गरेर छाड्छौँ ।’ उहाँले कसरी टेण्डर गरिएको रहेछ र कहाँसम्मको साँठगाँठ रहेछ भन्नेबारे छानबिन समितिको प्रतिवेदनपछि थाहा हुने बताउनुभयो । प्रतिवेदनको आधारमा आफूले थप कदम चाल्ने मन्त्री आलेको बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । प्रतिवेदनपछि थप निर्णय लिइने उहाँले बताउनुभयो ।

पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सुविधा दिने उद्देश्यले भारत सरकारले धर्मशाला बनाइदिएको थियो । बतास समूहले होटेल आनन्द नाममा उक्त धर्मशालामा व्यवसाय चलाइरहेको छ ।

निरीक्षणपछि मन्त्री आलेले एकै कोठाको एक दिनको भाडा नै खाना–खाजाबाहेक ७ हजारसम्म लिने गरेको बताउनुभयो । ‘सस्तो र सुलभ मूल्यमा भक्तजनले बस्न पाउनुपर्नेमा, यहाँ त सेभेन स्टार होटलजस्तै चलाइएको रहेछ । प्रतिवेदन आएपछि कारबाही अघि बढाउछौँ ।’

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com