टेकु अस्पतालमा खोप अभियान स्थगित !
प्रकाशित मिति : माघ ९, २०७८ आईतबार
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान एक हप्ताका लागि स्थगित गरिएको छ ।
अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले स्थगित गर्नुपरेको बताउनुभयो ।
उहाँका अनुसार भोलि माघ १० देखि माघ १६ गतेसम्म खोप अभियान स्थगित गरिएको हो । अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुष्टर डोज उपलब्ध गराउँदै आएको थियो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर कोरोनाको औसत संक्रमण दर ४१।८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर भने १७ हजार ४३७ जनामा परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ ।