अन्तर्राष्ट्रिय समुदायले व्यापक कदम चाल्यो भने महामारी २०२२ मा अन्त्य हुनसक्छ : डब्ल्युएचओ प्रमुख
प्रकाशित मिति : माघ १०, २०७८ सोमबार

अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार बताउँनुभएको छ ।
“विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले प्रमाण, रणनीति, उपकरण तथा प्राविधिक र परिचालन समर्थन देशहरूलाई आवश्यक पर्ने प्रमाणहरू उपलब्ध गराउन राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा काम गरिरहन्छ। यदि देशहरूले यी सबै रणनीति र उपकरणहरू व्यापक रूपमा प्रयोग गरे भने हामी तीव्र चरणको अन्त्य गर्न सक्छौं”, टेड्रोसले डब्ल्युएचओ कार्यकारी बोर्डको १५० औं सत्रको उद्घाटनमा उक्त कुरा उल्लेख गर्नुभएको छ । महामारीबाट पाठ सिक्नुपर्ने र त्यस्ता आपतकालीन अवस्थाहरू रोक्नको लागि अहिले नयाँ समाधानहरू विकास गर्न आवश्यक छ ।
कोरोनाको विश्व प्रभाव
यता कोरोनाभाइरस संक्रमणको महामारीले दुई वर्ष पूरा गरी सक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९को अन्त्यतिरबाट कोरोनाभाइरस संक्रमण सुरु भएको थियो । २४ जनवरी २०२२को बिहान ४ बजे वल्डोमिटरले अपडेट गरेको विवरणअनुसार विश्वभर हालसम्म ३५ करोड २१ लाख २६ हजार ९०७ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा सात करोड १९ लाख २५ हजार ९३१ जना संक्रमित भएका छन् । अमेरिकापछि भारतमा तीन करोड ९५ लाख ४३ हजार ३२८ जना, ब्राजिलमा दुई करोड ४० लाख ४४ हजार ४३७ जना, फ्रान्समा एक करोड ६६ लाख ९२ हजार ४३२ जना, बेलायतमा एक करोड ५८ लाख ५९ हजार २८८, रुसमा एक करोड ११ लाख आठ हजार १९१ जना, टर्कीमा एक करोड नौ लाख ४७ हजार १२९ जना र इटालीमा ९९ लाख २३ हजार ६७८ जना संक्रमित भएका छन् ।
कोरोना संक्रमणबाट हालसम्म ५६ लाख १४ हजार ७८८ जनाको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार सबैभन्दा बढी अमेरिकामा आठ लाख ८९ हजार १९७ जनाले ज्यान गुमाएका छन् । त्यसपछि क्रमश ब्राजिलमा ६ लाख २३ हजार १४५ जना, भारतमा चार लाख ८९ हजार ८९६ जना, रुसमा तीन लाख २६ हजार ११२ जना, मेक्सिकोमा तीन लाख तीन हजार १८३ जना र पेरु दुई लाख चार हजार ३२३ जनाको मृत्यु भएको छ ।
यीबाहेक एक लाखभन्दा बढी नागरिक गुमाउने फ्रान्स, बेलायत, इटाली, जर्मनी, अर्जेन्टिना, इरान, कोलम्बिया, पोल्याण्ड, इन्डोनेसियासहितका देशहरू छन् । साथै संक्रमितको संख्या ३५ करोडभन्दा बढी हुँदा र ५६ लाखभन्दा बढी मानिसले ज्यान गुमाउँदा २७ करोडभन्दा बढी व्यक्तिले कोरोनालाई जितेका छन् । वल्डोमिटरका अनुसार २७ करोड ९८ लाख ५२ हजार २३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।