पुलको नामकरण गर्नेलाई २५ हजार पुरस्कार


प्रकाशित मिति : माघ १७, २०७८ सोमबार

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो दावी गरिएको सो पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ ।

पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका  घनश्याम सापकोटालाई  नगरपालिकाले नगद  २५ हजारले पुरस्कृत गरेको हो ।

सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला राख्नुभएको थियो । शहीद दिवसमा आइतबार आयोजित कार्यक्रममा बाङ्गेचौरमा रहेको शहीदपार्कको मध्यभागबाट पर्वत जोड्ने गरी कालीगण्डकी खोचमा बनेको पुलको नामकरण गर्ने सापकोटालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार हस्तान्तरण गर्नुभयोे ।

नगरपालिकाले पुलको नामकरणका लागि सार्वजनिक सूचना गरेको थियो । उपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा बनेको नाम छनोट समितिले उत्कृष्ट २५ नाम छनोट गरेको थियो ।

सापकोटाले नाम मात्रै राख्नुभएको थिएन उहाँले राखेको नामको विस्तृत अर्थसमेत समावेश गर्नुभएको थियो ।

पाँच सय ६७ मिटर लामो पुललाई आवतजावतको साधन मात्रै नभई बागलुङको पर्यटनसँग जोड्ने भन्दै नामकरण गरिएको हो । बागलुङका झण्डै ५०० बढी झोलुङ्गे पुलमध्ये नामकरण भएको यो पहिलो पुल हो ।  अन्य पुलमा सोही ठाउँ  वा खोला, नदीमाथिको पुल भनेर चिन्ने गरिन्छ ।

शहीदपार्कमा भएको कार्यक्रममा त्यहाँ रहेका शहीदको शालिकमा माल्यार्पण गरिएको थियो । शहीदको सम्झना गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शहीदको बलिदानीले नै अहिलेको व्यवस्था आएको बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com