गलत समाचार फैलिन नदिने १० तरिका
प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार
आजभोलि सामाजिक सञ्जालमा गलत समाचारहरु क्षणभरमा नै फैलिएको देखिन्छ । कतिपय फोटोसप गरिएका नक्कली तस्वीरहरु त कतिपय डविङ गरेर उस्तै बनाइएका नक्कली भिडियोहरु राखेर बनाइएका समाचारहरु पनि फैलिने गरेका छन् ।
केही पहिले नेपालमा गगन थापाका दुईवटा तस्वीरहरु सार्वजनिक भए, एउटामा गगन थापाका अगाडि वियरका बोतल थिए, अर्कोमा कफीका कप । तर फेसबुक प्रयोगकर्ताहरुले भने कफीका कप थिए कि वियरका बोतल भन्ने निश्चित नै नगरी तस्वीर सहितका समाचारहरु फेसबुकमा भाइरल बनाइदिए ।
त्यस्तै केही पहिले चर्चित अमेरिकन सिलेब्रेटी द रकले आफ्ना फेसबुक स्टाटस शेयर गर्नेहरुलाई पुरस्कार दिने घोषणा गरेका समाचारहरु भाइरल भए । त्यसै सम्बन्धमा भिडियोहरु पनि भाइरल भए । फेसबुक प्रयोगकर्ताले सत्यता नबुझी आफ्ना वालहरुमा शेयर गरे । तर ती लिपसिन्क गरेर बनाइएका भिडियोहरु थिए । सक्कली भिडियो थिएनन् ।
बराक ओबामाको जस्तै लाग्ने यो भिडियोमा कलाकारले आवाज दिएका हुन् ।
यस्ता कैयन नक्कली समाचार, फोटो र भिडियोहरु दैनिक फेसबुकमा शेयर हुने गरेका छन् । तर तपाईले थोरै सावधानी अपनाउनु भएको खण्डमा यस्ता गलत समाचारहरु भाइरल हुनबाट केही हदसम्म रोक्न सक्नुहुनेछ । त्यसका लागि फेसबुकले दिएका १० टिप्स यस्ता छन् ।
१, समाचारको शीर्षकप्रति शंका गर्नुहोस् । गलत समाचारहरु प्रायजसो आश्चर्यवाचक चिन्हसहित आउने गर्छन् । तर सबै आश्चर्यवाचक चिन्ह सहित आउने समाचारहरु गलत भने हुँदैनन् । शीर्षकहरु अविश्वसनीय छन् भने पूरै समाचार हेरेरमात्र शेयर गर्नुहोस् । शीर्षक हेरेरमात्र शेयर गर्न हतार नगर्नुहोस् ।
२, कहिलेकाँही विश्वसनीय र चर्चित संचारमाध्यमका जस्तै लाग्ने वेवसाइट सृजना गरेर नक्कली समाचार शेयर गर्ने गरिएको हुन्छ । तपाईले वेवसाइटमा गएर लिंकहरु तुलना गर्नुभयो भने थाहा पाउन सक्नुहुनेछ ।
३, तपाईले समाचारको श्रोतबारे अनुसन्धान गर्नुहोस् । समाचार शेयर गर्नु अगाडि उक्त समाचार तपाईले विश्वास गर्ने श्रोतबाट लेखिएको हो कि होइन भन्ने निश्चित गर्नुहोस् । यदि समाचार नचिनेको श्रोतबाट आएको छ भने उनीहरुको वेवसाइटमा गएर अबाउट सेक्सन चेक गर्नुहोस् ।
४, अस्वभाविक स्वरुपमा समाचार आएको छ भने शंका गर्नुहोस् । किनभने नक्कली समाचारहरु प्रायजसो अस्वभाविक स्वरुपमा आउने गर्छन् । यदि समाचार असुद्ध तरिकाले लेखिएको छ भने र अस्वभाविक ले आउटमा राखिएको छ भने गलत हो कि भनेर शंका गर्नुहोस् ।
५, गलत समाचारमा प्रायजसो सनसनीपूर्ण तस्वीर र भिडियोहरु राखिएका हुन्छन् । कहिलेकाही तस्वीर सही पनि हुनसक्छ । तर सन्दर्भ विना नै राखिएको हुनसक्छ । तपाईले तस्वीर कहाँबाट राखिएको हो भन्ने सन्दर्भमा भेरिभाई पनि गर्न सक्नुहुन्छ । यदि असुहाउदो तस्वीरहरु राखिएका छन् भने त्यस्ता समाचार शेयर गर्नु अगाडि दुईपटक सोंच्नुहोस् ।
६, समाचार शेयर गर्नुभन्दा अगाडि कहिलेको मितिमा समाचार लेखिएको छ राम्रोसँग हेर्नुहोस् । प्रकाशित मिति नभएका समाचारहरु शेयर नगर्नुहोस् । गलत समाचारमा झुक्याउनेखालका मितिहरु लेखिएको हुनसक्छ ।
७, समाचार कस्ले लेखेको हो भन्नेबारेमा पनि भेरिभाई गर्न सक्नुहुनेछ । विना बाइलाइन वा श्रोत लामा लामा समाचारहरु प्रकाशित गरिएको छ भने ती समाचारहरु गलत पनि हुनसक्छन् । तपाईले समाचार लेख्ने व्यक्तिको प्रोफाइल पनि चेक गर्न सक्नुहुन्छ ।
८, त्यस्तै प्रकारका अन्य समाचारहरु भए नभएको गुगल गर्न सक्नुहुनेछ । यदि समाचार एक्सक्लुसिभरुपमा उक्त मिडियामा मात्र प्रकाशित हुने खालको छैन भने तपाईले गुगलमा मिल्दाजुल्दा अरु समाचारहरु पनि देख्न सक्नुहुनेछ । तपाईले विश्वास गर्ने संचारमाध्यमहरुले पनि प्रकाशित गरेका छन् भने समाचार सही हुनसक्छ ।
९, कहिलेकाँही गलत समाचारहरु जोकका रुपमा समेत प्रकाशित गरिएका हुनसक्छन् । त्यसैले संचारमाध्यम जोक र प्यारोडी समाचार प्रकाशित गर्ने खालको हो होइन भन्नेबारे वेवसाइटमा गएर चेक गर्न सक्नुहुनेछ । कतिपय वेवसाइटले प्यारोडीका रुपमा समेत समाचार शेयर गर्छन् ।
१०, कतिपय समाचारहरु नियतवश गलत तरिकाले लेखिएका हुनसक्छन् । कसैलाई नियतवश बदनाम गर्नका लागि लेखिएका त्यस्ता समाचारहरुबारे सचेत हुन जरुरी छ । तपाईले पढ्ने समाचारबारे समालोचनात्मक रुपमा तपाईले हेर्न जरुरी छ ।
फेसबुकले अहिले हरेक समाचारमा आई लेखेको कन्टेक्स बटन पनि राख्दै आएको छ । त्यसमा क्लिक गरेर तपाईले संचारमाध्यम कति पुरानो हो, त्यसको बारेमा विकिपिडयामा कस्तो विवरण छ लगायतका विषयहरु समेत चेक गर्न सक्नुहुनेछ । त्यसैले समाचारको शीर्षक देख्दैमा शेयर गरिहाल्ने बानी त्यागौं । पहिले समाचार पढौं ।