एमसीसीविरुद्ध भ्रम फैलाउने काम मात्र भयो :  कांग्रेस प्रवक्ता डा. महत


प्रकाशित मिति : माघ २९, २०७८ शनिबार

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन( एमसीसी )का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताउनुभएको छ । शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्नुहुँदै उहाँले एमसीसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक छ भन्नुभयो ।

एमसीसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उहाँले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने छ भन्नुभयो । उहाँले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले कांग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको जनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, “विधि, कानुन र संविधानको सर्वोच्चता मान्ने पार्टी कांग्रेस नै हो ।”

कार्यक्रममा भरतपुर महानगरपालिका–१९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ, जेसिजका नेतृहरु तारा गुरुङ, प्रमिशा काफ्लेलगायतले बोल्नुभएको थियो । यसअघिका जेसिजका अध्यक्ष इन्द्रलाल श्रेष्ठको समितिले मसिना गुरुङको समितिलाई पद हस्तान्तरण गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com