जनतालाई मेसिन गन सुम्पँदै युक्रेन सरकारले भन्यो,’रुसी सेनाको गतिविधि जानकारी गराउनु, पेट्रोल बम हानेर शत्रुलाई नष्ट गर्नु’


प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार

रुसी सेना युक्रेनको राजधानी कीभमा प्रवेश गरेको छ । युक्रेनी रक्षा मन्त्रालयले नै एक विज्ञप्ति जारी गर्दै रुसी सेनाका ट्याङ्क, बख्तरबंद गाडीहरू कीभको सडकमा देखा परेको बताएको छ । बिग्रँदै गएको अवस्थालाई मध्यनजर गर्दैले आफ्ना नागरिकलाई सेनामा भर्ना हुन आग्रह गरेको छ । युक्रेन सरकारले स्थानीय जनतालाई रुसी सैनिकको विरोध गर्न  अपिल गरिरहेको छ ।

युक्रेनको रक्षा र आन्तरिक मन्त्रालयले किभमा बस्ने मानिसहरूलाई ‘रुसी सेनाको गतिविधिको बारेमा जानकारी गराउन, पेट्रोल बम तयार गर्न र शत्रुलाई नष्ट गर्न’आह्वान गरेका छन।

युक्रेनको आन्तरिक मन्त्रालयले पनि आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पेट्रोल बम बनाउने जानकारी दिएको छ ।

किभमा स्वयम्सेवकहरूलाई १८ हजार मेसिन गन दिइएको मन्त्रालयका सल्लाहकारले बताए । ‘हातमा हतियार लिएर राजधानी जोगाउन चाहने सबैलाई दिइएको छ,’ उनले भने ।

युक्रेन सरकारले राजधानीलाई रुसी सेनाबाट जोगाउन युक्रेनी सैन्य गाडीहरू पनि कीभ प्रवेश गरिरहेको जनाएको छ । राजधानीका जनतालाई सुरक्षाको कारणले किभमा आउने सैन्य उपकरणलाई फिल्म नगर्न पनि अपिल गरिएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com