प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त
प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार
राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरिएको छ ।नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरिएको हो ।
मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
राजनीतिशास्त्रका प्राध्यापक श्रीधर खत्री विदेश मामिला विज्ञ हुन्। कोलम्बो स्थित ‘रिजनल सेन्टर फर स्ट्राटेजिक स्टडी’ का कार्यकारी अध्यक्ष रही सकेका क्षेत्रीय सुरक्षा र श्रम आप्रवासन जस्ता विषयमा समेत दखल राख्छन्।
खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल एसियाली अध्ययन केन्द्र र दक्षिण एसियाली नीति अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशकसमेत रहिसकेका छन् । खत्री अमेरिकामा सत्तरीकै दशकमा राजनीति र कूटनीतिमा उच्च शिक्षा लिएका अन्तर्राष्ट्रिय राजनीतिका र कूटनीतिका विज्ञ हुन् ।
उनले अमेरिका, श्रीलंका र सिंगापुरमा रहेर यस क्षेत्रको रणनीतिक अध्ययनसमेत गरेका छन् । उनी अझै पनि कतिपय त्यस्ता अध्ययन गर्ने विश्वविद्यालय र निकायसँग निकट छन् । उनकै संयोजकत्वमा परराष्ट्र नीति पुनरवलोकन उच्चस्तरीय समिति बनेको थियो । उनी नेतृत्वको टोलीले कूटनीतिक सुधार र कार्यान्वयन गर्न प्रतिवेदन दिएको थियो ।