अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट भूमिका सम्मानित
प्रकाशित मिति : फाल्गुन २५, २०७८ बुधबार
यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठ अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित हुनुभएको छ ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले समुदायको लागि अधिकार र अवसरको प्रवर्द्धनका लागि निरन्तर मेहेनत गरेको भन्दै उहाँलाई अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरेको जनाएको छ ।
अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘एजीबीटीक्यूआई समुदायको हक अधिकारको लागि गर्नुभएको अथक मेहेनतका लागि यस वर्ष अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सम्मानित हुनुभएकी नेपाली अभियन्ता भूमिका श्रेष्ठलाई धेरै-धेरै बधाइ ।’
अमेरिकी विदेश मन्त्रालयद्वारा बार्षिक रूपमा प्रदान गरिने अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार नेपालले लगातार दोस्रोपटक जितेको हो । यसअघि २०२१ मा तेजाब आक्रमणबाट घाइते भएकी मुस्कान खातुनले उक्त पुरस्कार पाउनु भएको थियो ।
न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलालाई यो पुररस्कार दिइन्छ ।