सुँगुरको मुटु प्रत्यारोपण गरेका विश्वकै पहिलो व्यक्तिको २ महिनापछि मृत्यु


प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार

 

सुँगुरको मुटु प्रत्यारोपण गरेका विश्वकै पहिलो व्यक्तिको २ महिनापछि मृत्यु भएको छ । अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो उनको मृत्यु भएको हो । मेरिल्यान्डमा बस्ने ५७ वर्षीय डेभिड बेनेटको दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।

मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जारी गरेको विज्ञप्तिकाअनुसार केही दिनदेखि बेनेटको स्वास्थ्य अवस्था खस्किएको थियो ।

बेनेटको शल्यक्रियामा संलग्न बाल्टिमोर अस्पतालका चिकित्सक डा। बार्टली ग्रिफिथले भनेका छन्, ‘बेनेटको निधनले हामी मर्माहत भएका छौं । उहाँ एक साहसी र भद्र बिरामी हुनुहुन्थ्यो । जो जीवनको अन्त्यसम्म पनि लडिरहनुभयो ।’

शल्यक्रियाअघि बेनेटले भनेका थिए, ‘गर वा मरको अवस्थामा प्रत्यारोपण गर्न लागेको हुँ । म बाँच्न चाहन्छु । यो एउटा अँध्यारोमा हानिएको गोलीजस्तै हो । मसँग अरु विकल्प छैन ।’

यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो तर उनको मृत्यु भएको छ । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो ।

मानव अंग प्रत्यारोपणमा देखिएको संकट समाधानका लागि यो अनुसन्धान सहयोगी हुने र यसमा अझै खोजी गर्नपर्ने चिकित्सक बताउँछन् । अहिले पनि १ लाख १० हजारको हाराहारीमा अमेरिकामा अंग प्रत्यारोपणको पर्खाइमा रहेका छन् ।

शल्यक्रियाअघि उनी ६ साता ओछयानमै उपकरणजडित भएर बसेका थिए। मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो ।बेनेटलाई भर्जिनियास्थित रिजेनेरेटिभ मेडिसिन कम्पनी रेभिभिकोरले आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु उपलब्ध गराएको थियो । चिकित्सकहरूका अनुसार सुँगुरको मुटु र मानिसको मुटुमा धेरै समानता हुनाले प्रत्यारोपण सफल भएको हो । सुँगुरका अन्य अंगहरू मिर्गौला, कलेजो र फोक्सो पनि मानिसमा प्रत्यारोपण गर्न सकिनेरनसकिनेबारे अनुसन्धान भइरहेको छ ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com